• कोभिड–१९ ले वर्तमान विश्वलाई शिर झुकाउन बाध्य बनाएको छ । मजबुत आर्थिक अवस्था र सक्षम स्वास्थ्य प्रणाली भएका विश्का शक्ति राष्ट्रहरु पनि यतिबेला कोरोनाको सवैभन्दा धेरै क्षति व्यहोरिरहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम बढिरहेको छ । कोरोनाकै कारण कतिले ज्यान गुमाउनुपर्ने हो भन्ने सोच्न समेत सकिँदैन ।
    कोराना बाजा बजाएर, झ्याली पिटेर आको हैन । यदि महामारी त्यसरी आउँथ्यो भने अवस्था अहिले जस्तो हुँदैनथ्यो । तर अहिले कोरोना संक्रमितलाई आपसमा हेर्ने नजर र गरिने व्यवहार मुल्यांकन गर्ने हो भने मानिसले मानवीयता गुमाइसकेको छ । क्वारेन्टिनमा बसेका संक्रमितहरुलाई समाजले हेर्ने नजर र गर्ने व्यवहार हेर्दा लाग्छ यतिवेला समाज कुनै इलम नपाएर क्वारेन्टिनमा बसेका संक्रमितहरुको चर्तिकला हेरेर समय विताइरहेको छ । संक्रमितहरुको मनोबल बढाउन उनिहरुलाई हौसला, सहयोग र सत्भावको खाँचो हुन्छ । तर हामी यतिबेला त्यसको बद्लामा घृणा र तिरस्कार दिइरहेका छौँ । क्वारेन्टिनको झ्यालबाट संक्रमितले बाहिर हेर्दासम्म छिमेकीहरु उसलाई छिछि र दुरदुर गरिरहेका छन् । लाग्छ उनिहरु रमिता हेरिरहेका छन् । ठिक त्यहि ठाउँमा छिमेकीले आफू, आफ्नो परिवारको कोहि सदस्यलाई राखेर हेर्दा के त्यो व्यवहार मानवीयता भित्र पर्छ ?
    हाम्रो समाज अहिले यति क्रुर बनिरहेकोछ कि त्यसको लेखाजोखा नै गर्न सकिन्न । छिमेकीहरुले गरेको अमानवीय व्यवहारले संक्रमितहरुमा त्रास थपिने बाहेक अरु केहि हुँदैन । तर पनि समाज किन यति निर्दयी बनिरहेको छ ? एउटा सेवाभाव बोकेर मानवीय सेवामा अग्रसर हुँदैगर्दा संक्रमित भएको स्वास्थ्यकर्मी जसले आफूलाई वास्ता नगरि विरामीको सेवामा आफूलाई समर्पित गरिरहँदा संक्रमणको शिकार हुन्छ । तर समाज उसैमाथि खनिन्छ किन ? यहि गतिमा संक्रमण फैलिँदै जानेहो भने कुनै पनि सेवा क्षेत्र बाँकी रहला भन्न सकिन्न । त्यस्तोबेला यो समाज कहाँ रहला ? जसले उपचार गर्छ उसैमाथि जाइलागेपछि समाजको स्तरलाई मापन गर्न सकिएला र ? विश्व समुदाय आक्रान्त बनिरहेको वर्तमन परिवेशमा हामीले साँधको क्वारेन्टिनमा बसेका संक्रमितहरुलाई अमानवीय व्यवहार भोगायौँ भने परिणाम कसैको पक्षमा राम्रो हुँदैन । आपसी सत्भाव कायम राख्दै, माया, सहयोग र हौसलाले मात्र कोरोनोमाथिको जीत सम्भव हुन्छ । स्वास्थ्यकर्मीमाथि गरिने दुव्र्यवहार र संक्रमितमाथि गरिने अमानवीय हर्कत यथासक्य चाँडो बन्द गराउन सम्वन्धित निकायले कुनै कसर बाँकी राख्न हुँदैन ।