• कोभिड–१९ का कारण विश्व मानव समुदाय नै आक्रान्त बनिरहेको वर्तमान अवस्थामा मानव समुदायबाट नै यसप्रति लापर्वाही गर्ने क्रम ज्यूँकात्यूँ छ । विश्व स्वास्थ्य संगठनले बारम्बार यसप्रति सजग रहन, स्वास्थ्य तथा सरसफाइमा ध्यान दिन र घरमै सुरक्षित बस्न आग्रह गरेता पनि मानव समुदायले अझै पनि यस विषयमा अपेक्षित सजगता नअपनाएको स्पष्टै देखिन्छ ।
    विश्वका शक्ति राष्ट्रहरुले कोरोनासंग पराजय स्विकार गर्दै सुरक्षाका उपायहरु अवलम्वन गरिरहेका छन् । कोरोनाका कारण नेपालमा ९० जना भन्दा बढिले ज्यान गुमाइसकेका छन् भने बाइस हजार भन्दा बढि संक्रमति भैसकेका छन् । सरकारले बारम्बार सुरक्षाका उपायहरु अपनाउन अनुरोध संगै निर्देशन समेत जारी गरेता पनि हामी त्यसलाई पालना गर्न भन्दा उलंघन गर्न एक कदम अगाडी बढिरहेका छौँ । जसको परिणाम एक दुईले मात्र हैन सबैले भोग्नुपर्ने निश्चित छ । सावधानी अपनाउन भन्दा लापर्वाही गर्नमा आफूलाई महान ठान्ने हाम्रो प्रवृत्तिले जोखिम बढाउन थप मद्दत पुगिरहेको छ ।
    सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, सार्वजनिक कार्यक्रम, भोज भतेर, नाचगान लगायत मानिसको जमघट धेरै हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरिरहेको छ । हिन्दु नेपालीहरुको पर्व तीज नजिकिँदै गर्दा विगतमा जस्तो एक महिना अगाडीदेखि नै पार्टी प्यालेसमा जमघट भएर दर खाने कार्यक्रमहरु दिनदिनै सन्चालन नभएता पनि त्यो क्रम रोकिएको भने छैन । केहि दिनदेखि पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम भैरहेका छन् । धेरै मानिसको जमघट हुँदा थप जोखिम हुने कुरा स्वाभाविक हो । तर कोरोनाको महामारी झेलीरहेको वर्तमान अवस्थामा स्वास्थ्य जस्तो विषयमा दर खाने समूह संवेदनशील भएको देखिँदैन ।
    अझै पनि स्थानिय सरकार तथा स्वास्थ्य मन्त्रालयको अनुरोधलाई खिल्ली उडाउँदै जमघट भएर दर खाने, नाचगान गर्ने जस्ता कार्यक्रमहरु सन्चालन भैरहेका छन् । त्यति मात्र हैन ‘हामीले यस्ता कार्यक्रम ग¥यौँ कसैलाई केही आपत्ति छ ?’ भन्ने शैलीका स्टाटस सहित फोटो र भिडीयोहरु सामाजिक सन्जालमा बग्रेल्ती छरपष्टीएका छन् । यस्तो कार्यले अझै निरन्तरता पाउने हो भने स्थिती अझै भयावह हुनेमा कुनै शंका छैन । तसर्थ सबै मिलेर संकटको सामना गर्ने शक्ति सामूहिक गरौँ । जीवन रहे रमाईलो फेरी गरौँला, सास रहे आस धेरै कुराको गर्न सकिएला तर जीवन नै रहेन भने…………….।