• सिन्धुली/ सिन्धुलीको कमलामाई नगरपालिका र छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीनको मेसान सिटीबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधवार(आज) काठमाण्डौंमा भर्चुअल रुपमा आयोजिक कार्यक्रममा मैत्रि सम्बन्ध सम्बन्धि हस्ताक्षर भएको हो ।
    कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री र मेसान शहरका मेअर हु युआन खुन वीच मैत्री सम्बन्ध स्थापनाको सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्ध स्थापनाका लागि सरकारले केही महिनाअघि स्वीकृति दिएको थियो ।
    कार्यक्रममा सांसद गणेश पहाडी, चीनका लागि पूर्व नेपाली राजदुत लिलामणी पौडेल, वाग्मती प्रदेश सभा सदस्य विनोकुमार खड्का, नेकपाका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराललगायतको उपस्थिति रहेको थियो ।
    कमलमाई नगरपालिका र मेसान शहर विचको मैत्री सम्बन्ध स्थापना पश्चात दुवै शहरहरुले आ–आफ्नो इतिहास, संस्कृती, प्रविधी र सामाजिक क्षेत्रका विविध सुचकहरुमा जानकारी साटासाट गर्नेछन् भन्ने सन्दर्भमा दुवै शहरका प्रमुखहरुले भिडियो कन्फरेन्स मार्फत आ–आफ्ना विचारहरु ब्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा मेसान शहरका मेअर एवं चिनिया कम्यनिष्ट पार्टी मेसान कमिटीका उप–सचिव खुनले मेसान शहरका १२ वटा अन्तर्राष्ट्रिय मित्र सर्कलमा कमलामाई नगरपालिका पनि समावेश भएकोमा खुशी ब्यक्त गर्नु भएको थियो । खुनले मेसान र कमलामाई नगरपालिका वीचको भौगोलिक दुरी हजारौं किलोमिटर भए पनि चिनिया उखान “मन मिल्ने साथीका लागि पाहाड र समुन्द्रले टाढाका मन छेक्न सक्तैन” भने झैं हामी दुई शहर विचको सहयोग र सदभावको सम्बन्ध चीरकालसम्म चलिरहने वताउनु भयो ।
    कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खत्रीले सम्बन्ध, सहकार्य र सिकाईको माध्यमबाट प्रविधी र जनजिवनलाई उन्नत र परिष्किृत वनाउँदै लैजानु आजको मैत्री र सहयोग समझदारी निकै ठूलो भूमिका निर्वाह गर्ने कुरा वताउनु भयो । कमलामाई नगरपालिकाले विकास र समृद्धिलाई छिमेकी राष्ट्रका शहरबाट पनि केही सिक्न र सिकाउने हेतुले कमलामाई र मेसान शहर विचको मैत्री सम्बन्धलाई अगाडि वढाएको र यो सम्बन्धलाई सार्थक र उपलब्धीपूर्ण वनाउन आफु लागि पर्ने बताउनु भएको थियो ।