• – नवीन संघर्ष
    सिन्धुली

    चाहँदा चाहँदै पनि
    सकिएन भने बिर्सन
    बेचैन न भोक न प्यास भएर
    बित्यो भने दिन
    पर्दै परेन भने रातमा
    त्यो आँखामा निद
    र देखियो भने उदेकलाग्दो सपनी !

    मेरा
    सारा तस्बिरहरू जलाइदिनु
    न सजाइदिनु
    तिम्रो घरका भित्ताहरुमा
    नलगाईदिनु तिम्रो
    सिरानी र तकियाका
    आँगनभरी खातैखात
    च्यातिदिनु मेरा हृदयका
    हरफहरुले सजिएका
    एक–एक प्रेम पत्र र अनेकन उपहारहरु !

    मैले यी
    हावाहुरीलाई भनेकै हुँ
    मेरो सुगन्ध लिएर नजानु !
    मैले यो
    घामलाई पनि भनेको हुँ
    मेरो न्यानोपन लिएर नजानु !
    यो सिमसिम बर्षीरहने
    झरिलाई पनि भनेको हुँ
    मेरो स्पर्श लिएर नजानु !
    यी फूलहरुलाई भनेको हुँ
    नफुलीदिनु मेरो मुस्कान लिएर !
    तिर्सनाहरुलाई भनेको हुँ
    मेरो आकृति लिएर नजानु !

    उसो त मैले पनि
    हजुरले नहिँड्न भनेपछि
    हिँड्न छाडिदिएको हुँ
    हजुरको घर अगाडिको मुल बाटो !
    हेर्न छाडिदिएको हुँ
    मेरो झुपडी बाट
    हजुरलाई देखिने हजुरको घरको झ्याल !

    यति हुँदाहुँदै पनि,
    अचेल हजुर आँफै हेर्नुहुन्छ
    त्यो झ्यालबाट मेरो बस्तीतिर !
    र पठाउनु भो मैले जस्तै गुलाफको फूल,
    किन मेरो आधा जल्दै गरेको तस्बिर
    हातका औंला पोल्नेगरि झिक्नु भो र टाँस्नु भो छातीमा ?

    म यति भन्न सक्छु–
    “हजुर मलाई माया गर्नुहुन्छ
    म हजुरलाई मन पराउँछु ।”