• सिन्धुली, १६ जेष्ठ । कमलामाई नगरपालिका वडा नं.५ को वडा कार्यालयले राहत वितरणमा छुटेका घरपरिवारहरुको तथ्यांक संकलन गरेको छ । बिहीबार र शुक्रबार दुई दिनमा ३ सय ५३ घरपरिवारको तथ्यांक संकलन गरेको वडा सचिव उज्ज्वल विक्रम थापाले जानकारी दिनुभयो ।
    ५ नं. वडा कार्यालयले दुई चरणमा गरि जम्मा ८७६ घरपरिवारलाई रातहत वितरण गरिसकेको छ । पहिलो चरणमा प्लान नेपालको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीको समन्वय तथा वडा कार्यालयको सहजिकरणमा प्रति घरपरिवार २ हजार ७ सय ३० रुपैयाँका दरले राहत वितरण गरिएको थियो । त्यस्तै दोश्रो चरणमा ७४३ घरपरिवरालाई खाद्यान्न लगायतका सामाग्री सहितको राहत वितरण गरिएको हो । जसमध्ये १६६ घरपरिवार डेरा गरि बस्ने र ५७७ घरपरिवार स्थायी घर भएकाले राहत लिएका थिए । दोश्रो चरणमा कमलामाई नगरपालिकाको सहयोग तथा वडा कार्यालयको सहजिकरणमा राहत वितरण गरिएको हो ।
    ‘हामी पहिलो र दोश्रो चरणमा पनि राहत पाउनबाट छुट्यौँ’ भन्ने गुनासाहरु आएकाले उनिहरुको नामावली संकलन गरिएको हो, वडा अध्यक्ष पुर्ण बहादुर खड्काले भन्नुभयो ‘यहि क्रममा नामावली संकलन गर्दै जाने हो भने त्यो संख्या बढेर जाने र त्यसमा पहिले नै राहत लिनेहरुको पनि नाम दोहोरिन सक्ने भएकाले दुई दिन मात्र नाम संकलन गरेर बन्द गरिएको हो ।’ अहिले तथ्यांक संकलन गरिएका घरपरिवारहरुले राहत पाउँछन् भन्ने निश्चित नभएको पनि अध्यक्ष खड्काले बताउनुभयो ।