विषादीको सुरक्षित प्रयोग सम्बन्धि सचेतनामुलक अभिमुखीकरण
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकामा “विषादीको सुरक्षित प्रयोग सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम“ संचालन गरीएको छ ।
अभिमुखीकरण कार्यक्रम कमलामाई नगरपालिका, कृषि विकास शाखा, सिन्धुलीको आयोजनामा गरीएको हो ।
उपभोक्ताको स्वास्थ्य र पर्यावरणको रक्षाका लागि कृषिमा विषादीको सुरक्षित प्रयोग अनिवार्य भइसकेकोले गर्दा किसानहरुलाई विषादीको हानीनोक्सानी र यसको सही प्रयोगबारे सचेत गराउन कार्यक्रमको आयोजना गरीएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कृषिलाई सुरक्षित, व्यावसायिक र प्रविधिमैत्री बनाउने अभियानमा कमलामाई नगरपालिकाले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो । त्यस्तै उहाँले कृषि क्षेत्रमा उत्पादन बढाउने नाममा विषादीको जथाभावी प्रयोग बढ्दै जाँदा यसले मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर पु¥याइरहेको बताउनुहुँदै कृषि उत्पादन बढाउनु मात्र नभई नगरबासीहरूलाई स्वच्छ र स्वस्थ खाद्यवस्तु उपलब्ध गराउनु पनि उक्त कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।
कार्यक्रममा वडा नं १ देखि १४ सम्मका उत्कृष्ट कृषकहरुलाई पुरस्कार र प्रमाणपत्र सहित सम्मान समेत गरीएको थियो ।
कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, कृषि विकास कार्यलयका प्रमुख, खाद्यगुण नियन्त्रक कार्यालयका अधिकृत, एकिकृत विषादि संश्लेषण केन्द्र प्रतिनिधि , कृषि उपज बजार सिन्धुलीका अध्यक्ष तथा व्यापारीहरु ,वडा नं १ देखि १४ सम्मका उत्कृष्ट कृषकहरु र कृषि शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



