माननीय बनेर दबाब दिने तामाङ पक्राउ
सिन्धुली/सिन्धुलीमा आफूलाई संघीय संसद्का प्रतिनिधिसभा सदस्य भनेर झुटो परिचय दिँदै सरकारी निकायका कर्मचारी तथा सर्वसाधारणमाथि अनुचित प्रभाव पार्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्जल कार्कीको अनुसार कमलामाई नगरपालिका–७ माझिटार निवासी ३६ वर्षीय लोकबहादुर तामाङलाई पक्राउ गरीएको हो ।
उहाँको अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।उनले आफू सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको दाबी गर्दै ट्राफिक प्रहरी सहित विभिन्न सरकारी निकायका कर्मचारी तथा विभिन्न व्यक्तिहरुलाई टेलिफोन सम्पर्क मार्फत दबाब दिने र आफ्नो पहुँचको धाक देखाउँदै अनुचित हस्तक्षेप समेत गर्न खोजेको आरोप छ ।
तामाङलाई प्रहरीले जेठ १४ गते नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान सुरु गरेको थियो । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



