अलपत्र परेका यात्रुहरूलाई खाद्य तथा पेय पदार्थ वितरण
सिन्धुली/बीपी राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएका प्रहरीले स्थानीय नागरिकहरूसँग समन्वय गरी खाद्य तथा पेय पदार्थ वितरण गरेका छन् ।
भकुण्डे बेसीका स्थानीयवासीहरूको सहयोगमा यात्रुहरूलाई फलफूल, पानी लगायत आवश्यक सामग्री वितरण गरिएका हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार शनिबार साँझदेखि रोशी गाउँपालिका–९ मंगलटार क्षेत्रमा फसेका ६ सय २७ यात्रुलाई पनि आज आइतबार सुरक्षित स्थानमा सारिएको छ ।
प्रहरीका अनुसार करिब ८० वटा सवारीसाधन मंगलटार क्षेत्रमा रोकिएका छन् । ती सवारीका चालक र सहचालकसहित करिब १२० देखि १२५ जना व्यक्ति अझै सवारीसाधनकै संरक्षणमा उक्त क्षेत्रमा रहेका छन् । डाइभर्सन पुनः निर्माण नभएसम्म ती सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न नसक्ने अवस्था रहेको जनाइएको छ ।



