वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

सिन्धुली /हिजोबाट भएको अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

हिजो शनिबार दिउँसो करिब चार बजेदेखि अवरुद्ध भएको उक्त राजमार्ग सञ्चालनमा ल्याउनको लागि केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

उहाँको अनुसार चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा र माम्तीसहितका क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बाढीले बगाएको छ ।

त्यस्तै नेपालथोक तथा सिन्धुलीतर्फको आँपघारी क्षेत्रमा समेत डाइभर्सन क्षतिग्रस्त हुँदा आवागमन पूर्ण रूपमा प्रभावित बनेको छ ।हाल भने यात्रीहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक व्यवस्था अपनाइएको छ ।

मंगलटारसम्म पुगेका सवारी साधनहरूलाई त्यहीँ रोकेर यात्रुहरूलाई पैदल रूपमा रोशी खोला पार गराइँदैछ ।बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट पूर्वी पहाडी जिल्ला तथा तराई क्षेत्रतर्फ जाने तथा राजधानी भित्रिने सयौं सवारी साधन प्रभावित भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *