हरिहरपुरगढीमा निःशुल्क घाँसको बीउ र नेपियर बेर्ना वितरण हुँदै
सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले पशुपालनमा संलग्न कृषकलाई लक्षित गर्दै निःशुल्क घाँसको बीउ तथा बेर्ना वितरण गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत हिउँदे जै, वर्सिम घाँसको बीउ तथा बहुवर्षीय नेपियर घाँसको बेर्ना वितरण गर्न लागेको हो ।
पशुसेवा शाखामार्फत सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि उद्यमी, कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीलाई आवेदन पेश गर्न गाउँपालिकाले आह्वान गरेको छ ।
गाउँपालिकाको अनुसार सूचना प्रकाशित भएको मितिले २१औँ दिन अर्थात् २०८३ कात्तिक ३ गतेभित्र आवश्यक कागजात सहित गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा आवेदन बुझाउनुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिने पालिकाले जानकारी दिएको छ ।

आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, कृषक समूह÷सहकारी/निजी उद्यमी दर्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । त्यस्तै गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र वा प्रमाणित अन्य कागजात पनि आवश्यक पर्नेछ ।
कृषक समूह तथा सहकारी संस्थाले गत आर्थिक वर्षको साधारणसभाको निर्णयको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ । जग्गाको स्वामित्व खुल्ने प्रमाण वा भाडामा लिएको जग्गा भए कम्तीमा पाँच वर्षको करार सम्झौता तथा आर्थिक वर्ष २०८३/०८४ को मालपोत÷भूमिकर तिरेको प्रमाण आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र किसान सूचीकरण प्रणालीमा दर्ता भएका कृषकको किसान सूचीकरण नम्बर निवेदनमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
कृषक समूह वा सहकारीले प्रोत्साहन अनुदान माग गर्ने भए कार्यक्रमका लागि छनोट गरिएका कृषकको नाम र ठेगाना खुलाइएको पत्र समेत पेश गर्नुपर्ने पालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले रीत नपुगेका तथा तोकिएको समयसीमा नाघेर आएका आवेदन छनोट प्रक्रियामा समावेश नगरिने स्पष्ट पारेको छ । त्यसैले इच्छुक कृषक तथा सम्बन्धित कृषि समूह/संस्थालाई आवश्यक कागजात पूरा गरी तोकिएको म्यादभित्रै आवेदन पेश गर्न आग्रह गरिएको छ ।


