हरिहरपुरगढीको इतिहास जोड्दै जितपुरगढीसम्म सडक बनाउने तयारी
सिन्धुली/ऐतिहासिक हरिहरपुरगढी किल्लालाई जितपुरगढीसँग सडक सञ्जालमा जोड्ने योजना अघि बढाउन हरिहरपुरगढी गाउँपालिकाले बागमती प्रदेश सरकारसँग बजेट माग गरेको छ ।
गुर्जीबाट हरिहरपुरगढी किल्ला हुँदै जितपुरगढीसम्म सडक निर्माणलाई बहुवर्षीय योजनामा समेटेर कार्यान्वयन गर्न गाउँपालिकाले प्रदेश सरकारसमक्ष आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले मुख्यमन्त्री किरण थापा मगर र आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलसँग भेट गरी प्रस्तावित सडकको आवश्यकता, महत्व र सम्भावित लाभबारे जानकारी गराउँदै बजेट सुनिश्चित गर्न मागपत्र बुझाउनुभएको छ ।
गाउँपालिकाका अनुसार सडक निर्माण भएपछि सिन्धुलीका दुई महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय स्थल हरिहरपुरगढी किल्ला र जितपुरगढीबीच प्रत्यक्ष सडक सम्पर्क स्थापित हुनेछ। यसले पर्यटकको आवागमन सहज बनाउनुका साथै स्थानीय बस्ती र कृषि क्षेत्रको बजारसम्मको पहुँचसमेत विस्तार गर्ने अपेक्षा गरिएको छ ।
ऐतिहासिक सम्पदासम्म सहज पहुँच पुगेपछि पर्यटन गतिविधि बढ्ने र त्यसबाट स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि विस्तार हुने गाउँपालिकाको विश्वास छ । सडकलाई केवल यातायातको पूर्वाधारका रूपमा नभई ऐतिहासिक सम्पदा संरक्षण र पर्यटन विकाससँग जोडिएको महत्वपूर्ण योजनाका रूपमा गाउँपालिकाले अघि सारेको छ ।
यसअघि पनि गाउँपालिकाले प्रदेश सरकारसँग उक्त सडक योजनाका लागि बजेट माग गर्दै आएको थियो। तर अपेक्षित रूपमा योजना सम्बोधन हुन नसकेपछि पुनः प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक बजेट सुनिश्चित गरी निर्माण अघि बढाउन आग्रह गरिएको हो ।
मन्त्री पौडेलले हरिहरपुरगढी किल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताउँदै आवश्यक बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
सडक निर्माण सम्पन्न भए हरिहरपुरगढीको इतिहास, जितपुरगढीको विरासत र स्थानीय अर्थतन्त्रलाई एउटै सडकले जोड्ने अपेक्षा गरिएको छ ।


