५१ ग्रामभन्दा बढी खैरो हिरोइन जस्तो पदार्थ सहित एक जना पक्राउ
सिन्धुली/सिन्धुलीमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार आज बिहिबार बिहान करिब ११ः४५ बजे कमलामाई नगरपालिका-६ धुराबजारमा लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलीले बा ५१ प १८९१ नम्बरको स्कुटर रोकी जाँच गरेको थियो ।
जाँच गर्न क्रममा स्कुटर चालक रामेछापको मन्थली नगरपालिका-१२ बस्ने करिब ३१ वर्षीय बाबुराम खड्काको साथबाट ५१ ग्राम ६८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त पदार्थसहित स्कुटर र खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


