दुधौलीमा ‘कपिलदास अछामे मगर स्मृति पुरस्कार’ कविता प्रतियोगिता हुँदै

सिन्धुली/नेपाली साहित्य र सिर्जनशील लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुलीको दुधौलीमा नगरस्तरीय ‘कपिलदास अछामे मगर साहित्यिक स्मृति पुरस्कार कविता प्रतियोगिता’ आयोजना हुने भएको छ ।

दुधौली विकास प्रतिष्ठानद्वारा सञ्चालित दुधौली एफएम ९७.२ मेगाहर्जको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा दुधौली नगरपालिका भित्रका इच्छुक साहित्य प्रेमी तथा सर्जकले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि १५० देखि ३०० शब्दसम्मको मौलिक नेपाली कविता पठाउनुपर्नेछ । कविता गद्य वा पद्य जुनसुकै शैलीमा लेख्न सकिनेछ । यसअघि अन्य कुनै प्रतियोगितामा सहभागी नभएको वा पत्रपत्रिकामा प्रकाशित नभएको मौलिक कविता मात्र प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । एक जना सहभागीले एउटा मात्र कविता पठाउन पाउनेछन् ।

कविता यहि आउँदो असोज १० गतेभित्र बुझाइसक्नुपर्नेछ । अनलाइन वा भौतिक रूपमा दुधौली एफएमको कार्यालयमा कविता दर्ता गर्न सकिनेछ । प्रतियोगितामा छनोट भएका कविले स्वयं उपस्थित भएर आफ्नो कविता वाचन गर्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीय हुनेले ७ हजार रुपैयाँ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।  दुई जना सर्जकलाई जनही २ हजार ५ सय रुपैयाँ नगदसहित सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण सर्जकलाई सहभागिता प्रमाण पत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

आगामी असोज ११ गते बिहान १० बजे दुधौली नगरपालिकाको सभाहलमा हुने प्रतियोगितामा प्रा.डा.नारायण गड्तौलाको प्रमुख आतिथ्यता रहनेछ ।आयोजकका अनुसार प्रतियोगितामा प्रस्तुत भएका उत्कृष्ट कविताहरूलाई पछि  प्रकाशन समेत गरिनेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *