सिन्धुलीमा ५ ग्राम भन्दा धेरै खैरो हेरोइन जस्तो पदार्थसहित एक जना पक्राउ
सिन्धुली/सिन्धुलीमा प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासमा चेकजाँचका क्रममा एक व्यक्तिलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो ।
हिजो असोज १ गते साँझ करिब ७ः४५ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलीले कमलामाई नगरपालिका-६ का ३५ वर्षीय विजय तोलाङ्गेलाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनको साथबाट प्लास्टिकबाहेक १ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ र नगद ३० हजार ६८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसपछि उनको बयानका आधारमा कमलामाई नगरपालिका-४ स्थित सञ्जीव देवकोटाको घरमा शंकास्पद खानतलासी गर्दा थप ४ ग्राम १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने गिलो पदार्थ र नगद ३१ हजार ५०० रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको अनुसार बरामद लागूऔषध जस्तो देखिने पदार्थको कुल तौल ५ ग्राम ८१० मिलिग्राम रहेको छ भने नगद ६२ हजार १८० रुपैयाँ बरामद भएको छ ।
पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीे जानकारी दिएको छ ।


