संविधान दिवसमा नवज्योति बहिरा माविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण
सिन्धुली/संविधान दिवस २०८३ को अवसरमा कमलामाई नगरपालिकाले कमलामाई नगरपालिका-६ स्थित नवज्योति बहिरा माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरीएको छ ।
आज एक विशेष कार्याक्रमको आयोजना गर्दै संविधान दिवसको उपलक्ष्यमा विद्यालयका विद्यार्थीलाई विभिन्न शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।
त्यस्तै सोहि अवसरमा सिन्धुली जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा चिकित्सक कार्यालय, सिन्धुलीको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले संविधान दिवसका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले नागरिक प्रतिको स्थानीय सरकारको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका क्षेत्रमा नगरपालिका निरन्तर जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नगरपालिकाले संविधान दिवसलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नगरी नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामार्फत मनाएको जनाएको छ ।
कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।


