स्वास्थ्यका कर्मचारीहरुप्रति कठोर बन्दै तीनपाटन गाउँपालिका, १३ बुँदे माग सहित स्वास्थ्यकर्मीले बुझाए ध्यानाकर्षण पत्र

सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गतका स्वास्थ्य सँस्थाहरुमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुले विभिन्न १३ बुँदे माग सहित आज गाउँपालिकामा ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाएका छन् ।

नागरिकको स्वास्थ्य सेवा दिनरात खटिने स्वास्थ्यकर्मीहरुको वृत्ति विकास र सेवा सुविधाका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको बताइएको छ । तीनपाटन गाउँपालिका क्षेत्रभित्र कार्यरत सम्पूर्ण स्वास्थ्यसँस्थामा कार्यरत कर्मचारीहरुले सिमित श्रोत साधनका बाबजुद उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा पालिकाले मनपरी ढंगले पटक पटक सरुवा गर्ने, स्वास्थ्य संयोजकले अनावश्यक दुःख दिने लगायतका कामहरु गरिरहेको विज्ञप्तीमा भनिएको छ ।

साथै स्वास्थ्यकर्मीहरु माथि गरिएका यस्ता कामहरु अविलम्ब बन्द गर्न आग्रह समेत गरिएको छ । तीनपाटन गाउँपालिकाको कार्यालयलाई सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरूले पेस गरेको ध्यानाकर्षण तथा ज्ञापनपत्रमा स्वास्थ्यकर्मीहरुको वृत्तिविकास, सेवा–सुविधा तथा कर्मचारी व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले सीमित स्रोतसाधनका बाबजुद उच्च मनोबलका साथ सेवा प्रदान गरिरहेको अवस्थामा सेवा–सुविधाका विषयमा कुरा उठाएकै भरमा स्वास्थ्य शाखा प्रमुखको अगुवाइमा पटक–पटक सरुवा गर्ने गरिएको उल्लेख छ । एक महिनामै दुईपटकसम्म सरुवा गरेर स्वास्थ्यकर्मीहरुलाई दुःख दिने नियत देखिएको भन्दै स्वास्थ्यकर्मीहरूले यस्तो प्रवृत्ति अन्त्य गर्न ध्यानाकर्षण पत्र बुझाएका हन् ।

कर्मचारी व्यवस्थापन सही ढंगले हुन नसक्दा कतिपय स्वास्थ्य संस्थामा आधारभूत सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको र स्वास्थ्य शाखामा जानकारी गराउँदा समेत कर्मचारी व्यवस्थापनमा चासो नदिइएको उनीहरूको गुनासो छ। स्वास्थ्य शाखा प्रमुखले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेका कारण समग्र स्वास्थ्य क्षेत्र नै हतोत्साहित बन्दै गएको विज्ञप्तिमा उल्लेख छ।

मग पत्र तथा विज्ञप्तीमा भनिएको छ “स्वास्थ्यकर्मीहरूले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न आफ्ना मागहरू ७ दिनभित्र सम्बोधन गर्न माग गरेका छन् । माग सम्बोधन नभएमा आगामी दिनमा सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरी सेवा ठप्प पार्न बाध्य हुनेछौँ ।” पालिकाले समयमै माग सम्वोधन नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीका सिनियर अहेव मदन विक्रम दाहालले बताउनुभयो ।

ज्ञापनपत्रमा स्वास्थ्यकर्मीहरूले १३ वटा माग अघि सारेका छन् । जसमा कार्यसम्पादन क्षमता, दक्षता, अनुभव र नियमअनुसार योग्यताका आधारमा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिनुपर्ने, स्वास्थ्यकर्मीहरुको काज वा सरुवा गर्दा नियमअनुसार तालिम, अनुभव, योग्यता, घरपायक तथा दरबन्दी, तह र कार्यक्षमताका आधारमा पदस्थापन भएको स्थानमा काम फर्काउनुपर्ने लगायतका मागहरु छन् ।
त्यस्तै, स्वास्थ्य संस्थाको दरबन्दी संरचनाअनुसार कर्मचारी व्यवस्थापन यथाशीघ्र गर्नुपर्ने तथा स्थायी दरबन्दीअनुसार सरुवाका लागि सहमति वा लोकसेवामा माग गर्नुपर्ने माग गरिएको छ ।

स्वास्थ्य संस्थामा अतिरिक्त समयमा सेवा प्रदान गरेबापत तथा ४० घण्टाभन्दा बढी सेवा दिएअनुरूप काममा खटिएका स्वास्थ्यकर्मीलाई नियमअनुसार सट्टाबिदा नदिइएको अवस्थामा निजले पाउने एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ । यसैगरी स्वास्थ्य शाखा प्रमुखको आर्थिक वर्ष २०८२र२०८३ को भ्रमणसम्बन्धी सम्पूर्ण विवरण, भ्रमणको उद्देश्य, भ्रमण प्रतिवेदन तथा भ्रमण भत्ताबापत बुझेको रकमसहितका विवरण सार्वजनिक गर्न समेत माग गरिएको छ ।

स्वास्थ्य शाखाद्वारा खरिद गरिएका औषधि तथा सामाग्रीको खर्च विवरण, दाखिला प्रतिवेदन र हस्तान्तरण विवरण सार्वजनिक गर्नुपर्ने तथा प्रत्येक स्वास्थ्य संस्थालाई हरेक आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि मसलन्द खर्च र सञ्चार खर्च उपलब्ध गराउनुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ । स्वास्थ्यकर्मीहरूले आफ्ना मागलाई बेवास्ता गरिएमा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।

ज्ञापन पत्र बुझाउँदै सिनियर अहेव मदन विक्रम दाहालले भन्नुभयो “हामीले पटक पटक यस विषयमा आपसमा छलफल चलाएका हौँ । मागहरु राखेका हौँ । तर माग राखेकै भरमा, कुरा उठाएकै भरमा स्वास्थ्य संयोजकको अगुवाइमा स्वास्थ्यकर्मीहरु माथि पटकपटक दुःख दिने नियतका साथ महिनामा दुईपटक सम्म सरुवा गर्ने काम भएको छ । यो निकै दुःखद छ ।” स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेको भनेर पन्छिन नपाउने भन्दै दाहालले कर्मचारीका माग समयमै सम्वोधन गर्न पालिका नेतृत्वलाई आग्रह समेत गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *