सिन्धुलीमा वृक्षरोपणको नयाँ अभियान

सिन्धुली/सिन्धुलीमा वृक्षरोपणको अर्थ बदलिँदै गएको छ । वनको हरियाली बढाउने अभियानका रूपमा मात्र सीमित रहेको वृक्षरोपण अहिले किसानको आम्दानी र स्थानीय अर्थतन्त्रसँग जोडिन थालेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा डिभिजन वन कार्यालय सिन्धुलीले निजी जग्गामा आँप, लिची, बोधिचित्त, एभोकाडो, टिमुर, लौठसल्लालगायत फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका हजारौँ बिरुवा वितरण गरेको छ ।

कमलामाई नगरपालिकामा मात्रै आर्थिक वर्ष २०८२/८३ मा बोधिचित्त १ हजार १६०, आँप १ हजार ६१० र लिची १ हजार ९८५ बिरुवा वितरण भएका छन् । गोलन्जोर गाउँपालिकामा एभोकाडो १ हजार ६७५, टिमुर ८८०, दन्ते ओखर ७५० र कागती ४०० बिरुवा पुगेका छन् ।

त्यसैगरी फिक्कल गाउँपालिकामा लौठसल्ला ३ हजार २७०, एभोकाडो १ हजार २०० र बोधिचित्त १ हजार १४० बिरुवा वितरण गरिएको छ। दुधौलीमा आँप २२० र लिची ४२५ बिरुवा वितरण भएका छन् ।

पछिल्लो समय बजार क्षेत्रका निजी उपभोक्ताले पनि फलफूल तथा बहुउपयोगी बिरुवामा चासो देखाउन थालेका छन् । उनीहरूका लागि लौठसल्ला ३ हजार ३४०, एभोकाडो ३ हजार २९०, बोधिचित्त २ हजार २००, आँप २ हजार ९४० र लिची ३ हजार १२० बिरुवा वितरण गरिएको छ ।

सरकारी नर्सरीबाट पनि पछिल्लो समय ठूलो संख्यामा बिरुवा उत्पादन भएका छन् । डिभिजन वन नर्सरीबाट २० हजार र रानीवास नर्सरीबाट १२ हजार गरी ३२ हजार बिरुवा उत्पादन तथा वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सामुदायिक तथा कबुलियती वनमा पनि वृक्षरोपण अभियान जारी छ । जिल्लाका विभिन्न स्थानीय तहमा फलफूल, तेजपात, बाँस, जडीबुटी तथा वनजन्य प्रजातिका बिरुवा रोपिएका छन्। गोलन्जोरमा मात्रै १७ हजार ५०० अम्रिसो रोपिएको छ । जिल्लाभर ११ हजार ५५ बाँस, ८ हजार ३५ तेजपात र ५ हजार ७६५ जडीबुटीजन्य बिरुवा रोपिएको कार्यालयको तथ्याङ्क छ ।

फलफूलका बिरुवाले किसानको आम्दानी बढाउन सक्छन् भने बोधिचित्त, टिमुर र लौठसल्लाजस्ता प्रजातिले गैरकाष्ठ वन पैदावारको बजार विस्तारमा योगदान पु¥याउन सक्छन् । त्यसैगरी बाँस, तेजपात र अम्रिसोले वातावरण संरक्षणसँगै स्थानीयस्तरमा आयआर्जनको अवसर सिर्जना गर्न सक्छन् ।

तर बिरुवा वितरण गर्नु मात्रै पर्याप्त हुँदैन । रोपिएका बिरुवा हुर्काउन नियमित स्याहार, प्राविधिक सहयोग र बजार व्यवस्थापन आवश्यक हुन्छ। यसका लागि डिभिजन वन कार्यालय, स्थानीय तह र वन समूहबीच निरन्तर सहकार्य आवश्यक देखिन्छ ।

सिन्धुलीमा रोपिएका यी हजारौँ बिरुवा केवल हरियालीका प्रतीक होइनन्, सम्भावित आम्दानीका आधार पनि हुन् । उचित संरक्षण, उत्पादन व्यवस्थापन र बजारको सुनिश्चितता हुन सके आज रोपिएका यी बिरुवा भोलिको ग्रामीण समृद्धिको आधार बन्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *