भोटेकोशी बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमीरेद्वारा १ लाख २ हजार सहयोग
सिन्धुली/भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अन्तर्गत सिड्स नेपाल सिन्धुली र संस्थाका अध्यक्ष दिपक घिमीरेले रु १ लाख २ हजार सहयोग गरेका छन् ।
सिड्स नेपाल सिन्धुलीको तर्फबाट रु ५१ हजार र अध्यक्ष दिपक घिमीरेको व्यक्तिगत तर्फबाट रु ५१ हजार गरी कुल रु १ लाख २ हजार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो ।

उक्त सहयोग रकम सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठमार्फत जिल्ला प्रशासन कार्यालय हुँदै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष घिमीरेले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिमा परेका नागरिकलाई आफ्नो क्षमता अनुसार सहयोग गर्नु सामाजिक दायित्व भएको बताउँदै अध्यक्ष घिमीरेले सहयोगको आकारभन्दा पनि त्यसपछाडिको मानवीय भावना महत्वपूर्ण हुने बताउनुभएको छ ।“सहयोग सानो-ठूलो होइन, भावना ठूलो हो,” अध्यक्ष घिमीरेले भन्नुभयो ।
भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा सामाजिक संघसंस्थाहरूले सहयोग अभियानलाई निरन्तरता दिइरहेका छन् ।


