मरिण ७ अन्तर्गतका बजार अनुगमन
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका ७ अन्तर्गतका विभिन्न बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक विमला माझीको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा १८ वटा पसल तथा व्यावसायिक प्रतिष्ठानको निरीक्षण गरिएको हो ।
किराना, मासु, हार्डवेयर, कपडा, मेडिकल, शैलुन, सुनचाँदी, चप्पल पसल तथा होटलल गायतका व्यवसायहरुमा अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, वस्तुको गुणस्तर तथा म्याद, खाद्य वस्तुको लेबलिङ, सरसफाइ, उपभोक्ता हित र प्रचलित कानूनको पालना लगायतका विषयमा निरीक्षण गरिएको थियो ।पालिकाको अनुसार व्यवसाय सञ्चालनका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा सुझावसमेत दिइएको छ ।
अनुगमनका क्रममा चारवटा पसलमा बिक्रीका लागि राखिएका म्याद नाघेका खाद्य तथा उपभोग्य वस्तु फेला परेका थिए । ती वस्तुको मूल्य जम्मा रु. ४ हजार १ सय ३० रहेको थियो भने म्याद नाघेका वस्तुहरू इलाका प्रहरी कार्यालय कपिलाकोटको रोहवरमा नष्ट गरिएको छ ।
गाउँपालिकाले मरिण क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई म्याद ननाघेका र गुणस्तरीय वस्तु मात्र बिक्री–वितरण गर्न, उचित मूल्य कायम गर्न तथा मूल्यसूची अनिवार्य रूपमा राख्न समेत आग्रह गरेको छ ।

त्यस्तै पसल तथा व्यावसायिक स्थल सफा र व्यवस्थित राख्न, व्यवसाय दर्ता तथा नवीकरण अद्यावधिक गर्न र उपभोक्ताको हितलाई प्राथमिकतामा राखी जिम्मेवार ढङ्गले व्यवसाय सञ्चालन गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
बजार अनुगमनमा सहयोग तथा समन्वय गर्ने उद्योग वाणिज्य संघ मरिण शाखा, इलाका प्रहरी कार्यालय कपिलाकोट, व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग र समन्वयको अपेक्षा गरीएको गाउँपालिकाले जानकारी दिएको छ ।


