दुधौलीले पनि जलनपीडितको निःशुल्क उपचार गर्ने

सिन्धुली/सिन्धुलीका स्थानीय तहहरुले जलन पीडितको उपचारका लागि निःशुल्क उपचारको व्यवस्था गर्न थालेका छन् ।

कमलामाई नगरपालिकाले नगर वासीहरुकका लागि जलन पीडितको निःशुल्क उपचारका लागि कीर्तिपुर अस्पतालसँग सम्झौता गरेपछि दुधौली नगरपालिकाले पनि जलन पीडितको उपचारका लागि कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको हो ।

दुधौली नगरपालिका र जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल बीच भएको सम्झौता अनुसार आर्थिक रूपमा विपन्न, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, हिंसा पीडित, एकल महिला तथा लक्षित वर्गका नागरिकलाई नगरपालिकाको सिफारिसमा उपचार सेवा उपलब्ध गराइने छ ।

जलन पीडितको जाँच, उपचार तथा व्यवस्थापनका लागि दुधौली नगरपालिकाले १० लाख रुपैयाँको ‘जलन उपचार तथा व्यवस्थापन’ उपचार कोष स्थापना गर्ने भएको छ । उक्त कोषबाट सम्झौतामा तोकिएको प्रक्रिया तथा अस्पतालले उपलब्ध गराएको आवश्यक कागजात र बिलका आधारमा उपचार खर्च भुक्तानी गर्ने नगरले जानकारी दिएको छ ।

उपचार सेवा लिन दुधौली नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित कागजात वा नागरिकता वा मतदाता परिचयपत्र पेश गर्नुपर्नेछ । नगरपालिकाका कर्मचारीका परिवारका हकमा कर्मचारी परिचयपत्र, बिरामी भर्ना तथा डिस्चार्ज सम्बन्धी कागजात र अन्तिम उपचार बिल आवश्यक पर्ने नगरले जानकारी दिएको छ ।

सम्झौतामा जलन उपचारसँगै दुर्घटना रोकथाम, दुर्घटना भएलगत्तै गर्नुपर्ने प्राथमिक उपचार तथा उद्धार सम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषय पनि समेटिएको छ ।

यसअघि कमलामाई नगरपालिकाले पनि नगरवासी जलनपीडितको उपचारमा सहयोग गर्ने उद्देश्यले कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको थियो । कमलामाईले जलनपीडितको उपचारमा आवश्यक सहयोग तथा सहजीकरण गर्ने जनाएको छ ।

स्थानीय तहले जलन पीडितको उपचार खर्च व्यहोर्ने व्यवस्था गरेसँगै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनेबे अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *