जनताको पक्षमा गरिएको निर्णय कार्यान्वयन गर्न जेल जानुपरे पनि पछि हट्दिनँ : नगरप्रमुख पोखरेल
सिन्धुली /सिन्धुलीको कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जनताको हितमा गरिएको निर्णय कार्यान्वयन गर्ने क्रममा जेल जानुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने बताउनुभएको छ ।
बीपी राजमार्गको केन्द्रबिन्दुबाट २१ मिटरभित्र स्थायी संरचना निर्माणका लागि घर नक्सा पास गर्ने कमलामाई नगरपालिकाको निर्णय जनताको घर, जग्गा र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उहाँले बताउनुभएको छ ।
वर्षौंदेखि अन्योलमा रहेका नागरिकको समस्या समाधान गर्ने उद्देश्यले नगर कार्यपालिकाबाट निर्णय भइसकेको उल्लेख गर्दै नगरप्रमुख पोखरेलले उक्त निर्णयलाई कानुनी प्रक्रियाभित्र रहेर दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले जनताको हितमा लिइएको निर्णयबाट कुनै दबाब वा चुनौतीका कारण पछि नहट्ने स्पष्ट पार्नुहुँदै “जनताको पक्षमा गरिएको निर्णय कार्यान्वयन गर्दा जेल जानुपर्ने अवस्था आए पनि म पछि हट्दिनँ,” उहाँले भन्नुभयो ।
नगरपालिकाको निर्णय कार्यान्वयन गर्दा कानुनी प्रक्रियालाई समेत ध्यानमा राखिने बताउँदै उहाँले जनताको हितमा गरिएको निर्णयबाट पछि हट्ने कुनै अवस्था नरहेको स्पष्ट गर्नुभयो ।
उहाँले पद र सुविधा क्षणिक भए पनि जनताको विश्वास र सेवा गर्ने जिम्मेवारी आफ्ना लागि सर्वोच्च रहेको बताउनुभयो । जनताको घर, जग्गा र भविष्यसँग जोडिएको विषय भएकाले नागरिकको समस्या समाधान गर्नु आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ ।


