सुनकोशीमा कार खसेको ९ दिन बित्यो, तीनजना अझै बेपत्ता

सिन्धुली/मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका–२, नवलपुरमा बसको ठक्करबाट सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीनजनाको अवस्था ९ दिन बितिसक्दा पनि अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार कारमा सिन्धुपाल्चोक जुगल–७ का दिलकुमार लामा, गोलञ्जोर–१ का गणेश थापा र तिनपाटन–९ का १७ वर्षीय सुजन बलम्पाकी मगर सवार थिए ।

गत सोमबार सडक छेउमा रोकिराखिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई काठमाडौंँबाट ओखलढुंगातर्फ जाँदै गरेको वा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सुनकोशीमा खसेको थियो ।

प्रहरीका अनुसार कार मध्यपहाडी लोकमार्ग पुनःनिर्माणमा संलग्न कालिमाता गौरा मिग्मा कन्स्ट्रक्सनको हो । दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयले निरन्तर खोजी गरिरहेका छन् ।

नदीको तीव्र बहाव र गहिराइका कारण खोजी चुनौतीपूर्ण बनेको छ । सोमबारदेखि म्यानुअल रूपमा समेत खोजी तीव्र पारिएको छ भने अन्य जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *