भारी वर्षाका कारण अवरुद्ध मदन भण्डारी राजमार्ग ६ घण्टापछि पुनः सञ्चालन
सिन्धुली/हिजो रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको मदन भण्डारी राजमार्ग करिब ६ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
वर्षाका कारण सडकमा ठूलो मात्रामा माटो तथा ढुंगा थुप्रिएपछि रातभर यातायात ठप्प भएको थियो। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सवारीसाधन आवतजावतमा समस्या भएको थियो ।
राजमार्ग अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको समन्वयमा सडक विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मरिण र हरिहरपुरगढी गाउँपालिकाका प्राविधिक टोली तथा जेसीबी परिचालन गरिएको मरिण गाउँपालिकाले जानकारी दिएको छ ।
उद्धार तथा सडक खुलाउने टोलीले करिब ५ देखि ६ घण्टासम्म निरन्तर काम गरेपछि पहिरो हटाएर राजमार्ग सामान्य रुपमा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ । अहिले साना तथा ठूला सबै प्रकारका सवारीसाधन सहज रूपमा आवतजावत गरिरहेका छन् ।

सडक खुलाउन रातभर खटिएका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा प्राविधिक टोलीलाई मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाले संयुक्त रूपमा धन्यवाद ज्ञापन गरेको छन् ।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायम रहेको भन्दै दुवै गाउँपालिकाले राजमार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीचालकलाई सावधानी अपनाउन अनुरोध समेत गरेका छन्।


