सुनकोशीमा कार खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुल्यो
सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरमा बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठको अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का दिलकुमार लामा, गोलञ्जोर गाउँपालिका १ का एक्स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका ९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन् ।
सोमबार बिहान करिब १०ः३० बजे सडक किनारमा रोकिराखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो । दुर्घटनापछि कारमा सवार तीनै जना बेपत्ता भएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय खुर्कोट, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गोताखोर टोलीले नदीमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।



