सिन्धुलीमा एक वर्षमा ११७ घरेलु हिंसाका घटना, सबैभन्दा बढी कमलामाईमा
सिन्धुली/आर्थिक वर्ष २०८२/०८३ मा सिन्धुली जिल्लामा ११७ वटा घरेलु हिंसाका घटना दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार १२ महिनाको अवधिमा जिल्लाभर ११७ वटा घरेलु हिंसाका घटना प्रहरीमा पुगेका हुन् ।
प्रहरीको वार्षिक विवरण अनुसार सबैभन्दा बढी घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा भएको छ । कमलामाईमा मात्रै ७२ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
यस्तै कार्यालको अनुसार दुधौली नगरपालिकामा १७ वटा, मरिण गाउँपालिकामा १० वटा, तीनपाटन गाउँपालिकामा ६ वटा, गोलञ्जोर गाउँपालिकामा ६ वटा, हरिहरपुरगढी गाउँपालिकामा ३ वटा, सुनकोशी गाउँपालिकामा १ वटा, घ्याङलेख गाउँपालिकामा १ वटा तथा अन्य स्थानका १ वटा गरी जिल्लाभर ११७ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।
प्रहरीको अनुसार घरेलु हिंसाका घटनामा खान–लाउन नदिने, शारीरिक तथा मानसिक हिंसा गर्ने, स्रोत–साधनबाट वञ्चित गराउने, जन्मदर्ता, नागरिकता तथा विवाहदर्ता नबनाइदिने र अधिकांश घटनामा श्रीमानबाट श्रीमतीमाथि हिंसा हुने गरेका छ ।
दर्ता भएका घटनामध्ये १०२ वटा मिलापत्रमार्फत टुंगिएका छन् भने १५ वटा घटनामा पीडित पक्ष थप कानुनी प्रक्रियाका लागि अदालत पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालयको अनुसार घरेलु हिंसा न्यूनीकरण गर्नको लागि प्रहरीले स्थानीय तह, सरोकारवाला निकाय र समुदायसँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रमहरु पनी सञ्चालन गर्दे आएको छ ।


