साउनले बढायो श्रृङ्गारको व्यापार, मूल्यमा उपभोक्ताको गुनासो

सिन्धुली/धर्म, संस्कृति र आस्थाको दृष्टिले पवित्र मानिने साउन महिना सुरु भएसँगै सिन्धुलीमा हरियो चुरा, मेहेन्दी, पोते तथा हरिया पहेँला पहिरनको किनमेल बढेको छ । भगवान शिवको पूजा आराधना, व्रत र धार्मिक अनुष्ठानसँग जोडिएको साउन महिनाले सिन्धुलीमाढी बजारमा पनि चहलपहल बढाएको छ ।

हिन्दु धर्मावलम्बी महिलाहरुले साउन महिनामा भगवान शिवको पूजा गर्दै श्रीमान्को दीर्घायु, परिवारको सुख–शान्ति र मनोकामना पूरा हुने विश्वासका साथ व्रत बस्ने परम्परा छ । यही कारण महिलाहरुले साउन महिनाभर हरियो पहेँलो चुरा, पोते, मेहेन्दी तथा सोही रङका पहिरन लगाउने गर्छन् । साउनको प्रत्येक सोमबार शिवालयहरूमा भक्तजनको निकै धेरै भीड समेत लाग्ने गरेको छ ।

साउन सुरु भएसँगै सिन्धुलीका माडीबजार, धुराबजार, स्टलबजार, बसपार्क, बैंक रोड र ढुंग्रेबास लगायतका क्षेत्रमा रहेका श्रृङ्गार पसलहरूमा यतिबेला महिलाको भीड निकै बढेको छ । हरियो चुरा, मेहेन्दी, पोते, नेलपालिस तथा साउन लक्षित सामग्रीको बिक्री अन्य महिनाको तुलनामा धेरैनै बढेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरू पनी अरु महिनाको तुलनामा यतिबेला निकै ब्यस्त देखिन्छन् ।

विगत आठ वर्षदेखि कस्मेटिक व्यवसाय गर्दै आउनुभएकी व्यवसायी नीगीना शाहको अनुसार साउन सुरु हुनुअघि नै चुरा, पोते, मेहेन्दी र नेलपालिसको बिक्री बढ्न थालेको थियो । “अरू महिनाको तुलनामा साउनमा ग्राहकहरु धेरै आउँछन् । हरियो चुरा र मेहेन्दी सबैभन्दा बढी बिक्री हुने सामग्रीहरु मध्य एक हुन् । अन्य महिनामा दिनको २ हजार सम्म व्यापार नहुने पसलमा अहिले दैनिक तीनदेखि पाँच हजार रुपैयाँसम्मको व्यापार भइरहेको उहाँले सिन्धुली खबरलाई बताउनुभयो ।

त्यस्तै अर्का व्यवसायी सञ्जु चौधरीको अनुसार पछिल्ला वर्षहरूमा युवतीहरूले साधारण चुराभन्दा स्टोन, मेटालिक र डिजाइनर चुरा बढी रुचाउन थालेका छन् । मेहेन्दीमा पनि नयाँ–नयाँ डिजाइनप्रति ग्राहकको आकर्षण बढ्दै गएको उहाँको अनुभव छ ।

किनमेलमा व्यस्त स्थानीय सविता श्रेष्ठले साउन महिना धार्मिक आस्थासँगै खुसी साट्ने अवसर भएको पनि बताउनुभयो । “साथीभाइसँग मेहेन्दी लगाउने, हरियो पहिरन लगाउने र फोटो खिच्ने रमाइलो नै छुट्टै हुन्छ । तर पसल अनुसार एउटै सामानको मूल्य फरक हुँदा तुलना गरेर मात्र किन्ने गरेका छौँ,” उहाँले भन्नुभयो ।

आजबाट सुरु भएको साउन महिनाले धेरै साना व्यवसायीहरुको पनी आम्दानी बढने अपेक्षा गरिएको छ । तर सिजनको समयमा एउटै गुणस्तरका चुरा र मेहेन्दी फरक–फरक पसलमा फरक मूल्यमा बिक्री हुने गरेको भन्दै उपभोक्ताहरूले गुनासो पनी गरीरहेका छन् । एउटै डिजाइनको चुरा एक पसलमा दुई सय रुपैयाँ रे अर्को पसलमा त्यहि चुरु तीन सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यसले उपभोक्ता ठगिने जोखिम बढाएको उनीहरू बताउँछन् ।

उपभोक्ताहरूले स्थानीय व्यवसायीहरूले पनि सिजनको नाममा मनपरी मूल्य लिन नहुने बताएका छन् । उनीहरूका अनुसार सबै व्यवसायीको व्यापार समान नहुने भए पनि सामानको मूल्यमा अत्यधिक अन्तर हुनु उचित नभएको बताउदै सिन्धुली उद्योग वाणिज्य संघ तथा सम्बन्धित निकायले नियमित बजार अनुगमन गरी मूल्यमा एकरूपता कायम गराउन आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *