सिन्धुली आयुर्वेद चिकित्सालयमा सेवा लिनेको संख्या ५३ हजार नाघ्यो
सिन्धुली /आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट आर्थिक वर्ष २०८२/०८३ मा ५३ हजार ३ सय ८१ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
पछिल्ला तीन वर्षदेखि सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको तथ्याङ्कले जिल्लामा आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास र आकर्षण बढ्दै गएको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
आज आइतबार जिल्लाका क्रियाशील सञ्चारकर्मीसँग आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्साका निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाले चालु आर्थिक वर्षमा कार्यालयबाट प्रवाह गरिएका सेवा तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४२ हजार ८ सय ५६, २०८१/०८२ मा ४६ हजार २ सय ६ र २०८२/०८३ मा ५३ हजार ३ सय ८१ जनाले चिकित्सालयबाट सेवा लिएका छन् । यस वर्ष नयाँ तथा फलोअप दुवै प्रकारका बिरामीको संख्या बढेकाले आयुर्वेदिक उपचारप्रतिको जनविश्वास निरन्तर क्रमःश बढ्दै गएको पनी उहाँले सञ्चारकर्मीहरुलाई बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै चिकित्सालयको दैनिक बहिरङ्ग (ओपीडी) सेवामार्फत २३ हजार १ सय ४९ जनाले उपचार सेवा लिएका छन् ।
निमित्त प्रमुख तिमल्सिनाले भवन अभावका कारण सेवा विस्तारमा केही कठिनाइ भइरहेको उल्लेख गर्दै प्रदेश सरकारबाट यस आवमा ३ करोड रुपैयाँ बजेट विनियोजन भइसकेकाले आगामी आर्थिक वर्षमा नयाँ सुविधा सम्पन्न भवन निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । नयाँ भवन निर्माण भएपछि ओपीडी सेवा, पञ्चकर्म सेवा, विशेषज्ञ उपचार तथा अन्य आयुर्वेदिक सेवाहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले स्वस्थ जीवनका लागि सन्तुलित, पोषणयुक्त र स्वास्थ्य खानपानमा विशेष ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले आयुर्वेदिक उपचार पद्धतिको प्रयोग गर्न सके रोगको रोकथाम, स्वास्थ्य प्रवद्र्धन तथा दीर्घकालीन रूपमा स्वस्थ जीवनयापनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काले जानकारीको अभावका कारण धेरै बिरामीले जिल्लाबाहिर वा अन्य अस्पतालमा महँगो खर्च गरेर उपचार गराउन बाध्य भइरहेकोले गर्दा सञ्चारमाध्यममार्फत चिकित्सालयले प्रदान गरिरहेका सेवा तथा सुविधाबारे जनचेतना फैलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।



