राष्ट्रिय कला महोत्सवको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री लामाले उद्घाटन गर्ने

सिन्धुली/सिन्धुली कला घरको आयोजनामा हुनलागेको राष्ट्रिय कला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सन्चालन हुने कला महोत्सवको तयारी अन्तिम चरणमा रहेको कला घरका अध्यक्ष सुमन थापामगरले जानकारी दिनुभयो । कला घर परिवारको अथक परिश्रमसंगै अन्य सहयोगीहरुको साथ र सहयोग पश्चात महोत्सवको तयारी अन्तिम चरणमा पुग्न सकेको कलाघरले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुहुनेछ ।

‘नमूना कला संग्रहालय सिन्धुली घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔँ’ भन्ने मूल नाराका साथ कमलामाई नगरपालिका–३ चपौलीमा रहेको कला घरस्थलमा महोत्सवको आयोजना गरिएको छ । कला घर निर्माणको महाअभियानमा हातेमालोसंगै मौलिक कला संस्कृतिको प्रवद्र्धन तथा कलाघरको प्रचार प्रचार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

सात दिनसम्म सन्चालन हुने महोत्सवमा नेपाली मौलिक परम्परा झल्कने घरहरूको नमूना, मौलिक खानेकुराहरुको परिकारहरू, जातजातिको झाँकी प्रदर्शन, खानाको लागि व्यवस्था, हस्तकला, चित्रकला, मूर्तिकला लगायत कलाहरूको प्रदर्शन गरिने छ । विशेषगरि चियादानीको आकारमा रहेको चियाघरमा पकाइएको अर्गानिक चिया र घरजत्रै आकारमा निर्माण गरिएको ठेकीमा राखिएको मोहिको स्वाद पनि महोत्सवको आकर्षण बन्नेछन् ।

लोक दोहोरी गीत प्रतियोगिता, मौलिक खैँजडी भजनको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गीत संगितको प्रस्तुति, नृत्यहरु, साहित्यिक कार्यक्रम तथा अन्य साँस्कृतिक कार्यक्रमहरु महोत्सवको आकर्षणको रुपमा रहनेछन् । कलाघरका अध्यक्ष सुमन थापामगरका अनुसार अन्य महोत्सवमा जस्तो पैसा तिरेर ल्याइएका कलाकारहरुको प्रस्तुति हेर्न मात्र यो महोत्सवमा दर्शक आउनेछैनन् । कला महोत्सवमा आउने हरेक दर्शक आँफै पनि एउटा कलाकार हो । सवैले आफूमा भएको कला प्रस्तुत गरेर सहयोग गर्न सक्नेछन् ।

कला घर कसैको व्यक्तिगत नभएर सिन्धुली जिल्लावासी तथा सिंगो राष्ट्रको घर भएकाले महोत्सव सफल पार्न सवैले आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नेमा कलाघर परिवार विश्वस्त रहेको छ । भौतिक संरचना निर्माण तथा अन्य कलाकृतिहरु निर्माण गर्न आर्थिक रुपमा असहज भएकाले कलाघरको प्रचार प्रसार पश्चात यसमा केहि आर्थिक सहयोग जुट्छ भन्ने अपेक्षा पनि राखिएको छ । कलालाई माया गर्दै राष्ट्रिय कला संग्रहालयको रुपमा स्थापित गर्न सवैको साथ र सहयोगले मात्र सम्भव रहेकाले कलाघर परिवारले सवैलाई महोत्सव अवलोकन गर्न आमन्त्रण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *