• भदौ ७, सिन्धुली/उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले आर्थिक बर्ष २०८०/८१ मा झण्डै ८० लाख राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार जिल्लामा सञ्चालन भएका उद्योग तथा व्यवसायबाट आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ९४ हजार १० रुपैयाँ राजस्व संकलन भएकाे छ।

    जसमा वाणिज्य तर्फ ४२ लाख ५३ हजार १५० रुपैयाँ र उद्योग तर्फ ३७ लाख ४० हजार ८ सय ६० रुपैया राजस्व संकलन गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख धुव्रप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्लामा आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्ममा उद्योग र वाणिज्य गरी १० हजार ३ सय ३१ उद्योग तथा व्यवसाय सञ्चालनमा रहेका छन् । पछिल्लो समय साना तथा घरेलु उद्योग र व्यापार व्यवसायको संख्या बढेको प्रमुख ढकालको भनाई छ । उत्पादनजन्य, कृषी तथा बनजन्य खनिजजन्य, निर्माण, पर्यटन, सेवामूलक, सूचना प्रविधी सम्वन्धी उद्योग तथा अन्य व्यापार व्यवसाय सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

    कार्यालयको तथ्यांक अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग तर्फ ६ सय ८९ उद्योग दर्ता हुँदा ९६ उद्योगले लगत कट्टा गरेका छन् । यस्तै वाणिज्य तर्फ १ सय ५९ व्यापार व्यवसाय दर्ता हुँदा ७५ वटा व्यवसाय लगत कट्टा गर्नेमा परेका छन् । यसको तथ्यांक हेर्दा ४७ दशमलब १६ प्रतिशत व्यवसाय बन्द भएका छन् । नयाँ उद्योग तथा व्यवसाय दर्ता भएर सन्चालन हँदा रोजगारीको अवसर सिर्जना हुने र स्वाबलम्वी हुन मद्दत पुग्ने भएकाले व्यवसायीहरुलाई सहयोगी निकायहरुले उचित अवसर प्रदान गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।