• साउन ३१,सिन्धुली\सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वीपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका– २ चियाबारीको धुम्तिमा बिहिबार विहान ९ः२२ बजेको समयमा बोलेरो दुर्घटना हुँदा दुईजनाको स्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेका अनुसार गोलन्जोर गाउँपालिका –६ नाकाजोलीबाट सिन्धुलीमाढी तर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको तरकारी सहित यात्रु बाहक बोलेरो दुर्घटना भएको थियो ।
    दुर्घटनामा मृत्यु हुनेहरुमा गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

    मृतक पवन मस्राङ्गी सोहि वडाका निर्वाचित सदस्य हुन् । गम्भीर घाइते भएका वडा सदस्य मस्राङ्गीको उपचारको क्रममा सिन्धुली अस्पताल सिन्धुलीमा मृत्यु भएको थियो । त्यस्तै दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।
    जसमध्ये जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । चालकको दायाँ हात,खुट्टा र छातिमा गम्भिर चोट लागेकोले धुलिखेल अस्पताल रिफर गरिएको छ । त्यस्तै सोहि स्थानका ३७ वर्षका हिमाल परियारको पनि अवस्था गम्भिर रहेको जनाइएको छ । २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगरलाई पनि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

    गोलञ्जोर– ६ कै १८ वर्षीया जिना श्रेष्ठ, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई–५ कि ७८ वर्षीया डम्बर कुमारी कार्की घाइते छन् । उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको जनाइएको छ । ाडि आफै अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।