• साउन २७, सिन्धुली/नेपाल आदीवासी जनजाति पत्रकार महासंघ नेपाल (फोनिज) बागमती प्रदेश समिति (नेवा –ताम्सालिङ) को २५ औँ स्थापना दिवस तथा रजत बर्ष समारोह सिन्धुलीमाढीमा भव्यताका साथ मनाईएको छ ।

    बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले पानसमा बत्ति बालेर फोनिज बागमती प्रदेश समिति (नेवा –ताम्सालिङ) को २५ औँ स्थापना दिवस तथा रजत बर्ष समारोहको उद्घाटन गर्नुभएको थियो । यस वर्ष साउन २७ गते स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवसलाई रजत वर्षको रुपमा मनाईएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले आदीवासी जनजातिहरुको सक्रिय आन्दोलनको कारणनै राज्यले हकअधिकार स्थापित गर्न बाध्य भएको बताउनुभयो । उहाँले जनजातिहरुको हकअधिकार प्राप्तिको लागि गैरजनजातिको पनि महत्वपुर्ण भूमिका रहेको छ भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

    तामाङ, नेवार लगायत अन्य जातिहरुको बाहुल्यता रहेको बागमती प्रदेशमा बर्षाे देखि आन्दोलनरत जनजातिहरुले तामाङ र नेवार भाषा सरकारी कामकाजीको रुपमा कार्यान्वयमा आए सँगै बल्ल खुसीको महशुस गर्न पाएको मन्त्री तामाङको भनाई छ ।

    आदीवासि जनजाति एवम् अन्य जातजातिको अवको लक्ष्य भनेको आर्थिक शसक्तिकरण कसरी गर्न सकिन्छ भन्ने मुख्य कुरा रहेको बताउनुहुँदै उहाँले राज्यको आधा अपूरा कामहरु पूरा गर्ने यात्रामा पत्रकाहरुले पनि हातेमालो गर्ने आसा राखेको सुनाउनुभयो ।

    बामगती प्रदेश सदस्य मातृकाप्रसाद भट्टराईले माथिल्लो ओहोदामा बस्ने व्यक्तिहरु जनतालाई झुक्याउने र छल्ने काममा व्यस्त भएको आरोप लगाउनुभयो । जतापनि ठिक्क पार्ने भाषणमा जनतालाई मोहित बनाउनछन् तर आफु अनुकुल काम गर्ने पाएको उहाँले बताउनुभयो ।

    मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले जनयुद्धको समयमा पत्रकारले गरेका कामहरु प्रसंसनिय रहेको बताउनुभयो । कहाँ, कतिबेला, कस्ता घटना घटिने हो भन्ने टुङ्गो नभएपनि पत्रकारको निरन्तर कलम चलिरहेको बताउँदै उहाँले आज पनि राष्ट्र निर्माणमा पत्रकारको गहकिलो योगदान रहेको भनाई राख्नुभयो ।

    राजनितिक व्यक्तिलाई सच्चिने कुरामा पनि पत्रकारले निरन्तर खबरदारी गरिरहेको अध्यक्ष मोक्तानले बताउनुभयो । तर पछिल्लो सयम केहि पत्रकारहरु सच्याउन भन्दा पनि सक्काउनतिर लागेको भन्दै दुख व्यक्त गर्नुभयो । “व्यक्तिगत विचार र आस्थाका कुरा होलान् । तर पार्टीको खोल ओडेर पत्रकारीता गर्ने केहि थान पत्रकारहरुले पत्रकारीताको धर्म विर्सिनु दुखको कुरा हो ” अध्यक्ष मोक्तानले भन्नुभयो ।