दोब्बरले घट्यो जिल्ला ट्राफिक कार्यालय सिन्धुलीको राजस्व

असार २३, सिन्धुली/जिल्ला ट्राफिक कार्यालय सिन्धुलीबाट संकलन हुने राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरले घटेको छ । विभिन्न कसुरमा सवारी चालकलाई कारबाही गरेबापतको राजस्व चालु आर्थिक वर्षमा साढे २ करोडभन्दा बढीले घटेको हो ।

जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असार तेस्रो सातासम्म २६ हजार ३ सय २२ सवारी कारबाहीबाट २ करोड १६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो अघिल्लो आवको भन्दा २ करोड ५२ लाख ९ हजार रुपैयाँले न्यून हो । आर्थिक वर्ष २०७९/८० मा ४४ हजार ९ सय सवारी कारबाहीबाट ४ करोड ६९ लाख ६ हजार रुपैयाँ संकलन भएको थियो ।

त्यसअघिको आर्थिक वर्ष २०७८/७९ ३७ हजार सवारी कारबाहीबाट ३ करोड ६८ लाख २ हजार रुपैयाँ संकलन भएको थियो । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीकी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मन्जुकुमारी रानाले चालु आवमा सवारी कारबाही र राजस्व दुवै घटेको जानकारी दिनुभयो ।

साउनदेखि हालसम्मको तथ्याङ्क हेर्दा औसतमा प्रत्येक महिना ट्राफिक कारबाही र राजस्व घट्दै आएको देखिएको छ । चालु आर्थिक वर्षमा कारबाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । ८ हजार ७४ मोटरसाइकल कारबाहीबाट ५८ लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको रानाले जानकारी दिनुभयो ।

६ हजार ४ सय ७ कार, जिप, भ्यान कारबाहीबाट ४३ लाख ५३ हजार रुपैयाँ संकलन भएको छ । यस्तै ३ हजार ४ सय ८८ ट्रक कारबाहीमा पर्दा ३१ लाख ४२ हजार ५ सय संकलन भएको जनाइएको छ । त्यस्तै ३ हजार ९६ बस कारबाहीबाट २७ लाख ४२ हजार ५ सय, टेम्पो ३ हजार ३ सय ६४ कारबाहीमा पर्दा २४ लाख ९९ हजार र १ हजार ८ सय ९३ ट्याक्टर कारबाहीमा पर्दा १५ लाख ८१ हजार ५ सय राजस्व संकलन भएको जनाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले मादक पदार्थ सेवन, ओभरलोड, सवारीसाधन चालक अनुमतिपत्र नभएका, ओभरस्पिड, ट्राफिक नियमको उल्लङ्घन गरेका सवारी साधनलाई दुर्घटना न्युनिकरणका लागि कारबाही गर्ने गरेको जनाएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक रानाले दुर्घटना न्युनिकरणको लागि चालकहरुलाई जनचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

भर्खरै सरुवा भएर जिल्ला ट्राफिक कार्यालय सिन्धुलीमा प्रमुखको रुपमा आउनुभएकी रानाले पटके लगाएर राजस्व संकलनभन्दा पनि जनचेतनामुलक तालिम दिन आश्वयक रहेकोमा जोड दिनुभयो। “सिन्धुलीमा सडकको अवस्थाले गर्दा पनि निकै दुर्घटना भएको पाएँ । सवारी चालकलाई ट्राफिक नियम पालनाका लागि दबाब दिँदै चिट काटेर पनि हेर्यौँ । तर दुर्घटना घट्न सकेन ।

त्यो भन्दा पनि जनचेतनामूलक तालिम कार्यक्रमको आवश्यकता महसुस गरेकी छु,“ प्रमुख रानाले भन्नुभयो । सवारी चालकलाई कारबाही गरिहाल्नुभन्दा फेरि पनि त्यस्ता काम नगर्नका लागि सुल्झाउने योजना बनाएको उहाँले सुनाउनुभयो । लामो दुरीका सवारी चालकलाई बीचमा विश्राम स्थानहरु बनाउने र त्यहाँ ट्राफिक नियमको विषयमा जानकारी गराउँदा दुर्घटना घट्ने सक्ने प्रहरी वरिष्ठ नायव निरीक्षक रानाको भनाइ छ ।

प्रहरी निरीक्षक राना आफै दुर्घटना न्युनिकरणको लागि चालकहरुलाई जनचेतनामुलक प्रचारप्रसारमा खटिरहनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *