गृहिणी महिलालाई आत्मनिर्भर बनाउन गोलन्जोरमा ढाका सिलाई बुनाई तालिम

असार १८, सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिका — ३ ग्वाल्टारका गृहणी महिलालाई आत्मनिर्भर बनाउनको लागि ढाका सिलाई बुनाई तालिम दिइएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गोलन्जोर गाउँपालिकाको आर्थिक सहयोगमा गृहिणी महिलालाई १ महिने ढाका सिलाई बुनाई तालिम दिइएको हो ।
गोलन्जोर गाउँपालिका — ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षता तथा बागमती प्रदेश सांसद शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा आज एक औपचारिक कार्यक्रमका बिच १ महिने ढाका सिलाई बुनाई तालिम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सांसद भुजेलले प्रदेश र गाउँपालिकाको सो योजनाले महिलाहरु सिपयुक्त हुन सक्ने गाउँघरमै बसेर सानो लगानीबाटै उद्यम व्यवसाय गरेर आर्थिकोपार्जन गर्न सक्ने बताउनुभयो ।
सिप सिकेपछि परम्परागत र आधुनिक सामग्री उत्पादन गर्न गाउँघरमै बसेर महिलाहरु सक्षम हुने आसा लिएको उहाँले सुनाउनुभयो । आर्थिक उन्नति गर्न सके हरेक कुरामा श्रीमानको को भर पर्नु नपरोस भनेरै तालिम प्रदान गरिएको भन्दै सानो तिनो व्यवसायबाट काम सुरु गर्न आग्रह गर्नुभयो ।
तालिममा ३ नम्बर वडाका २१ जना गृहिणी महिलाको उपस्थिती रहेको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो । गाउँपालिकाले महिला सशक्तिकरणको लागि थुप्र्रै योजनाहरु अघि सारेको उहाँले बताउनुभयो ।
सो तालिमले महिलालाई जीविकोपार्जनमा आत्मनिर्भर बनाएर राष्ट्रको सबल नेतृ्त्वकर्ता महिला बनाउन मद्धत गर्ने अध्यक्ष बरालले विश्वास व्यक्त गर्नुभयो । स्थानीय महिलाबाट उत्पादित सामग्रीको बिक्री वितरणको लागि गाउँपालिकाले व्यवस्थापनको लागि सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
गृहिणी महिलाले निकै उत्सुकता र सक्रियताको साथ ढाका सिलाई बुनाईको तालिम लिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले बताउनुभयो । यहाँका महिलामा आफै केहि गर्ने क्षमता पनि देखेकोले व्यवसाय सन्चालनको लागि गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले गृहिणी महिलाहरुको लागि १० वटा जिल्लामा विभिन्न किसिमका उद्यमी तालिम प्रदान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *