• जेठ ३०, सिन्धुली/जिल्लाको फिक्कल गाउँपालिका वडा नं ५ लाई ‘बालमैत्री’ वडा घोषणा गरिएको छ । बालमैत्री वडा घोषणा हुने सिन्धुलीको यो तेश्रो वडा हो ।

    जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा बुधबार एक भव्य समारोहका बिच वडा नम्बर ५ लाई ‘बालमैत्री’ वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समिति र गाउँपालिकाबाट सूचांकसहित सिफारिस भएपछि सो वडा तेस्रो बालमैत्री वडा घोषणा भएको छ।

    यसअघि जिल्लाको तीनपाटन गाउँपालिकाको २ वटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन् । अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता र कार्यप्रक्रिया व्यवहारमा संस्थागत गरेकाले बालमैत्री वडा घोषणा भएको हो । स्थानीय शासन कार्यविधि २०६८ बमोजिम ३० वटा, बालमैत्री स्थानीय शासन संक्षिप्त पुस्तिकाले थप गरेको १२ वटा र गाउँपालिकाले निर्धारण गरेको बालबालिका सम्बन्धी ९ वटा सूचांक पूरा गरेकाले घोषणा भएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।

    बालमैत्री वडा घोषणा गर्नुभन्दा दिगोपन दिन सक्नु ठूलो चुनौती रहेको समन्वय प्रमुख कार्साङ लामाले बताउनुभयो । ‘बालमैत्री वडा घोषणा गर्न वडा, गाउँपालिकाले निकै संघर्ष गरिरहेको छ । यसका सूचकलाई निरन्तर कायम राख्नुपर्छ’ उहाँले भन्नुभयो । अवको केही वर्षमा पालिकालाई नै बालमैत्री घोषणा गर्नेगरि काम गर्न आग्रह गर्दै वहाँले पालिकाले यस वर्षदेखि प्रत्येक स्कुलमा जीवनउपयोगी शिक्षा दिने कार्यक्रम राख्न सुझाव दिनुभयो ।