• जेठ १४, सिन्धुली/सिन्धुलीमा १८ लाख रुपैयाँ सहित ३ जना पुरुष पक्राउ परेका छन् । युएस डलरको प्रलोभन देखाई १८ लाख रुपैयाँ ठगी गरेर फरार भएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ ।

    आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गदैँ पक्राउ परेका मानिस र रुपैयाँ सार्बजनिक गरेको थियो । हिजो (आइतबार) साँझ ५ बजेको समयमा गोलन्जोर गाउँपालिका — ७ लौकुनमा इलाम जिल्लाका राजु गौतमलाई अपरिचित व्यक्तिहरुले युएस डलरको पोको भनी रुमालमा पोको पारी २० रुपैयाँको नोट र सादा कागजको टुक्राहरु दिई १८ लाख ठगी गरि फरार भएका थिए ।

    पिडित गौतमको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्टको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उक्त घटनामा संलग्न ३ जनालाई हिजै राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिकाका २४ बर्षीय श्याम तामाङ, सोहि स्थानका २६ बर्षीय तेन्जेन पाइन र २७ बर्षीय नारायण बहादुर पाईन रहेको जनाईएको छ ।

    उनीहरुको साथबाट बागमती प्रदेश ०२–०४४ प ४३०९ नम्बरको ३५० सिसिको रातो १ थान बुलेट मोटरसाइकल , बागमती प्रदेश ०२–०४५ प ६३०२ नम्बरको २२० सिसिको १ थान पल्सर मोटरसाइकल, १८ लाख रुपैयाँ नगद, रु १ हजार को लक्ष्मी सनराइज बैक लेखिएको बन्डल ९ थान, रु १ हजार को सिदार्थ बैक लेखिएको बन्डल २ थान, रु ५ सय लेखिएको सिदार्थ बैँक लेखिएको बन्डल १४ थान फेला परेको प्रहरीले जनाएको छ ।

    त्यस्तै नेपाली रुपैयाँ २० को ६९ थान,युएस १ को २ सय ३७ थान र विभिन्न कम्पनीको मोवाइल फोन ५ थान फेला परेको छ । पक्राउ परेका ३ जनालाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ ।
    सो घटनामा संलग्न १ जना फरार रहकोले खोजिकार्य भइरहेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।