• वैशाख २८, सिन्धुली/सिन्धुली अस्पताल सिन्धुलीको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने भएको छ । निर्माण कम्पनीले नवनिर्मित भवन अस्पताल व्यवस्थापन समितिलाई औपचारिक रुपमा आउँदो असार मसान्तमा हस्तान्तरण गर्ने तयारीमा थालिएको हो ।

    अस्पतालको भेरिएसन पास नहुँदा भवन हस्तान्तरण ढिलाई भइरहेको छ । हाल लगभग ९९ प्रतिशत भवन निर्माणको काम सकेपनि प्राविधिक समस्याका कारण अस्पताललाई भवन हस्तान्तरण गर्न ढिलाई भइरहेको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर अभिशेक थपलियाले बताउनुभयो । “भवन हस्तान्तरणको प्रक्रियामै छ । भौतिक संरचनाको काम लगभग ९९ प्रतिशत काम सकिसकेको छ । निर्माण कम्पनीसँग बुझ्दा भेरिएसन पास नभएको कारण हस्तान्तरणमा ढिलाई भइरहेको जवाफ पाएका छौँ ।; डाक्टर थपलियाले भन्नुभयो ।

    अस्पतालको भवन निर्माणको काममा विवाद भएपछि सम्झौता भन्दा गेट, पार्किङ डिजाइन परिवर्तन गरेर निर्माण भएको कारण शहरी विकास मन्त्रालयबाट भेरिएसन पास हुने प्रक्रियामै रहेको निर्माण कम्पनीका इन्जिनियरले बताएको थपलियाले जानकारी दिनुभयो । हस्तान्तरणमा ढिलाई भएपछि अस्पातालको मुख्य सेवाहरु नवनिर्मित भवनबाटै प्रदान गर्न सुरु गरिएको छ ।

    अस्पतालमा भिँडभाड बढ्न थालेको र यता अस्थायी संरचना पनि कमजोर हुँदै गएकोले निर्माण कम्पनीसँग अनुमती लिएरै नयाँ भवनबाट सेवा प्रदान गर्न सुरु गरिएको उहाँले बताउनुभयो । “निर्माण कम्पनीलाई अस्थायी संरचनाबाट सेवा प्रदानमा समस्या भएको गुनासो गरेका थियौँ । उहाँहरुले मुख्य सेवाहरुमात्रै सार्नको लागि अनुमति दिनुभयो । इमरजेन्सी, ओपडि,इन्डोर सेवाहरु नयाँ भवनबाटै दिन सुरु गरेका छौँ ; डाक्टर थपलियाले थप्नुभयो ।

    औपचारिक रुपमा अस्पताल विकास समितिलाई भवन हस्तान्तरण नभएको कारण अस्पतालका सवै सेवाहरु नयाँ भवनबाट हुँदैनन् । असार मसान्त भित्रमा भवन हस्तान्तरण हुने आसा गरिएको डाक्टर थपलियाको भनाई छ । सहरी विकास मन्त्रालयको भ्याट बाहेक २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ करोड बजेटमा २०७७ साल चैत्र ७ गते अस्पतालको भवन निर्माणको लागि हनुमान कन्ट्रक्सन सँग सम्झौता भई काम सुरु भएको थियो । कन्ट्रक्सनले निर्माण सम्पन्न मिति बाहेक २ पटक म्याद थप गरिसकेको छ ।