• वैशाख २६,सिन्धुली/राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणाधीन सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
    सुनकोशी गाउँपालिकाको ७ नम्बर वडास्थित कानढुङ्ग्रीमा आयोजित समारोहमा प्रधानमन्त्री दाहालले टिबिएम स्वीच थिचेपछि सुरुङ ब्रेक थ्रु भएको थियो । ब्रेक थ्रु भएसँगै आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबिएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो ।
    कुसुमटारदेखि कानढुङ्ग्रीसम्म १३.३ किलोमिटर लामो सुरुङ १९ महिनामा नै ब्रेक थ्रु भएको हो । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले लक्ष्यभन्दा एक वर्षअघि नै ब्रेक थ्रु गर्न सफल भएको बताउनुभयो । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको उहाँले बताउनुभयो । सुरुङ खन्ने काम २०७९ असोज २८ गतेदेखि सुरु भएको थियो । ‘सुरुङ खन्ने क्रममा ६ पटकसम्म अवरोध बेहोर्नुपर्यो,’ आयोजना प्रमुख बरालले भन्नुभयो, ‘सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने जस्ता समस्याले टिबिएम मेसिनबाट खन्ने काम रोकिएको थियो।’
    ‘ब्रेक थ्रु’ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लक्ष्यभन्दा अघि नै सुरुङ ब्रेक थ्रु भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आयोजनाको बाँकी काम पनि निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभयो । ‘सुरूङको ब्रेक–थ्रु हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘आयोजनाको बाँकी काम पनि निर्धारित समयमा नै सम्पन्न हुनेमा विश्वस्त छु ।’

    प्रधानमन्त्री दाहालले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको बताउनुभयो । ‘यो आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ । यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ । सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुनेछ,’ उहाँले भन्नुभयो, ‘साथै, यस आयोजनाले बिजुलीसमेत उत्पादन गर्ने भएकोले उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’

    नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने भएकोले यो आयोजनाको प्रभावकारी हुने उहाँको विश्वास छ । ‘यस आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसंख्याको बहुआयामिक विकास हुनेछ । यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि हुनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

    सुरुङ खन्ने काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ (कोभेक) ले गरेको हो । कोभेकसँग सुरुङ खन्नका लागि मात्र १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न गर्न भने ४९ अर्ब ४२ करोड रुपैयाँ खर्च हुनेछ ।

    सुनकोशी नदीमा बाँध निर्माण गरी सुरुङमार्फत पानी मरिण खोलामा खसाल्ने आयोजनाको लक्ष्य छ । आयोजनाले जनाएअनुसार कानढुङ्ग्रीमा निर्माण गरिने बाँध ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको हुनेछ । पानी खसाल्ने स्थान कमलामाई–२ कुसुमटारमा हो । जहाँ ६६ मिटर उचाइबाट खसालिने पानीबाट ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने आयोजना प्रमुख बरालले बताउनुभयो ।

    यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ पुर्याउने लक्ष्य राखेको छ । ‘सुनकोशीको पानीबाट सर्लाही, महोत्तरी, बारा, रौतहट र धनुषाका एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याइनेछ,’ आयोजना प्रमुख बरालले भन्नुभयो, ‘पानी वितरण गर्न बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरिनेछ ।’