गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
वैशाख २१, सिन्धुली/जिल्लाको गोलन्जोर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बिच गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।
अन्र्तराष्ट्रिय संस्था ब्याक टु लाइफ इभि जर्मनीको ६ करोड ७६ लाख २१ हजार १ सय ३५ रुपैयाँ आर्थिक सहयोग तथा समुदाय पद्धति विकास सेवा सिन्धुलीको साझेदारीमा अस्पतालको भवन निर्माण कार्य सुरु भएको उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिनुभयो । भवन शिलान्यास कार्यक्रममा ब्याक टु लाइफका निर्देशकद्धय डिकेन्द्र ढकाल र अच्युत पौडेलको समेत उपस्थिती रहेको थियो ।
भवन निर्माणको लागि एआरटी कन्स्ट्रक्सन भक्तपुरले २०८१ वैशाख १४ गतेबाट निर्माण सुरु गरेर २०८२ कार्तिक १३ गते गाउँपालिकालाई अस्पताल हस्तानतरण गर्नुपर्ने गरी ठेक्का सम्झौता पाएको छ ।
गोलन्जोर गाउँपालिका — ३ ग्वाल्टारमा अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल ५ शैयाको निर्माण हुने उपाध्यक्ष न्यौपानेले बताउनु भयो । सो अस्पताल निर्माणबाट ७ हजार ९ सय ८२ घरधुरी तथा ३६ हजार ६ सय ४८ जनसंख्या लाभान्भीत हुनेछन् ।