गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
वैशाख १९,सिन्धुली/गोलन्जोर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले जिल्ला शाखा सिन्धुलीले दुई अग्नी पिडित परिवारलाई आपतकालिन राहात प्रदान गरेको छ । मंगलबार जिल्लाको गोलन्जोर गाउँपालिका – ३ धेन्द्रेमा वनमा लागेको डढेलो बस्तीमा पस्दा स्थानिय बेग बहादुर भुजेल र राम बहादुर दर्लामी मगरको घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।
रेडक्रस सोसाइटीले जिल्ला शाखा सिन्धुली र गोलन्जोर गाउँपालिकाको सहयोगमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले अग्नी पिडित बेग बहाद्र भुजेल र राम बहादुर दर्लामी मगरको परिवारलाई आपतकालिन राहात प्रदान गर्नुभएको हो । अग्नी पिडितको परिवारलाई रेडक्रसको विपद् व्याकेज अन्र्तगतको खाद्यान्न, ओड्ने, ओछ्याउने, तथा भाँडाकुडा लगायतका आपतकालिन सामाग्री प्रदान गरेको छ भने गाउँपालिकाले खाद्यान्न, बालबालिकालाई लक्ताकपडा, स्टेसनरीका सामान प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी ग्वाल्टार उपशाखाका सभापति ओमकुमार कार्की (गौरब)ले जानकारी दिनुभयो ।
मंगलबार सुन्तले वनमा लागेको आगो धेन्द्रे बस्तीमा पस्दा स्थानीय बेग बहादुर भुजेलको घर र गोठ जलेर नष्ट भएको थियो । आगोलागि हुँदा घरमा भएको गरगहना, लत्ताकपडा, अन्नपात, भाँडाकुडा जलेर नष्ट हुँदा ४ लाख ५० हजार बराबरको क्षति भएको अग्नी पिडित भुजेलले बताउनुभयो ।
त्यस्तै सोहि ठाउँका स्थानीय राम बहादुर दर्लामी मगरको घरमा डढेला सल्किएर घर र गोठ जलेर नष्ट भएको थियो । आगोलागिबाट मगरको घरमा भएको लत्ताकपडा, अन्नपात, भाँडाकुडा जलेर नष्ट हुँदा ७ लाख ५० हजार बराबरको क्षति भएकोअग्नी पिडित भुजेलले गुनासो गर्नुभयो । दुई अग्नी पिडित परिवारलाई गोलन्जोर गाउँपालिकाले मंगलबार पनि खाद्यान्न लगायतका राहात हस्तानतरण गरेको थियो ।