• वैशाख १८, सिन्धुली/चालु आर्थिक बर्षको हाल सम्म सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक वनमा डढेलो लागेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, घ्याङलेख गाउँपालिका र कमलामाई नगरपालिकाको वडा नम्बर १ गरी २५ वटा सामुदायिक वनमा डढेलो लाग्दा ४ सय ५३ हेक्टर क्षेत्रफल जङ्गल ध्वस्त भएको छ ।

    सुनकोशी गाउँपालिकाको ३ वटा सामुदायिव वनमा डढेलो लाग्दा १ सय ९२ हेक्टर क्षेत्रफल जङ्गल ध्वस्त भएको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धरले जानकारी दिनुभयो । स्थानीयले बारीमा आगो सल्काउँदा फैलिएको डढेलोले सामुदायिक वन तथा स्थानीयको घर, गोठ समेत जलेर ध्वस्त भएको थियो ।

    त्यस्तै घ्याङलेख गाउँपालिकाको विभिन्न स्थानका ६ वटा सामुदायिक वनमा डढेलो लाग्दा १ सय ४९ हेक्टर क्षेत्रफल जङ्गल जलेर नष्ट भएको छ भने कमलामाई नगरपालिका वडा नम्बर १ को ७ वटा सामुदायिक वनमा डढेलो लाग्दा ४७ हेक्टर क्षेत्रफल जङ्गल ध्वस्त भएको प्रमुख मानन्धरले जानकारी दिनुभयो ।

    मरिण गाउँपालिकाको ४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोले गाउँपालिकाको २७ हेक्टर क्षेत्रफल जङ्गल जलेर ध्वस्त भएको छ । त्यस्तै हरिहरपुरगढी गाउँपालिकाको ३ वटा सामुदायिक वनमा डढेलो लाग्दा ३८ हेक्टर क्षेत्रफल जङ्गल डढेको छ । वनमा डढेलो मानविय कारणबाटै लाग्ने गरेको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धरले बताउनुभयो ।

    डढेलो जेठ सम्म पनि लाग्ने भएकोले अझै धेरै क्षेत्रफलमा डढेलो लाग्न सक्ने उहाँले बताउनुभयो । सामुदायिक वनमा डढेलो हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएका छन् । वनमा भएको डढेलोका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ । वनमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका मरिणका प्रमुख मानन्धरको भनाइ छ । “ खडेरीका कारण वन जङ्गलमा रुख आफैँ सुकिरहेका बेला डढेलोका कारण झन् समस्या भएको छ ।

    वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । ; मानन्धरले भन्नुभयो । ्वनमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएका स्थानीयवासीले बताएका छन् । डढेलोको कारण समस्या निम्त्याउने भएकाले सावधानी अपनाउन वन कार्यालयले आग्रह रहेको छ ।