• वैशाख २८, सिन्धुली/बागमती प्रदेश सरकारले यही वैशाख २४ गतेबाट तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने भएको छ । दुई भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न यसअघि नै ऐन जारी गरिसकेको प्रदेश सरकारले औपचारिक कार्यान्वयनमा ल्याउने तयारी गरेको हो ।

    वैशाख २४ गते बिहान ९ बजे काठमाडौंको वसन्तपुरमा आयोजना गरिने घोषणा समारोहका लागि सोमबार मूल समारोह समिति गठन गरिएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यका अनुसार उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा औपचारिक कार्यान्वयन सुरु गरिएको घोषणा गर्नुहुनेछ ।

    यही वैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार त्यसको तयारी तीव्र पारिएको हो । मन्त्री बज्रचार्यको संयोजकत्वमा सोमबार ३०३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

    काठमाडौंको खुसीबुमा आयोजित एक कार्यक्रममा मूल समारोह गठन गरी घोषणा गरिएको हो । समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै विभिन्न तामाङ संघसंस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुका सदस्यहरु रहेका छन् ।

    बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक विदा दिने र सोही दिन काठमाडौंको बसन्तपुरमा एक समारोह गरी कार्यन्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णयअनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको बोर्ड नेपाली भाषा (देवानगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा( रञ्जना) मा लेखिएका राखिने छन् ।

    बागमती प्रदेश सरकारले गत वर्ष कात्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो । त्यसदिन बागमती सरकारले भाषा ऐन कार्यान्वयन आउने दिनको रुपमा सार्वजनिक बिदासमेत दिएको छ । बसन्तपुरमा आयोजना हुने घोषणा समारोहअघि काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको ¥याली निकालिने जानकारी दिइएको छ ।