• बैशाख ७, सिन्धुली/मरिण गाउँपालिकाले महिलाहरुलाई लक्षित गरे संचालन गरेर २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले महिलाहरुले लाभ लिएका छन् । मरिण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी खकार जाचँ सम्बन्धी शिविरमा ४ सय ९३ जनाले सेवा लिएका हुन् ।

    सो शिविरमा २ सय २४ जनाको क्यान्सरको लागि प्रारम्भीक जाँच (भिआइए) गरिएकोमा ६ जनामा क्यान्सर रोग संकास्पद रुपमा देखा परेको मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनुभयो ।
    “ भिआइए गराउँदा ६ जनामा क्यान्सर भएको हुन सक्ने शंका लागेको छ । यसअघि कतैपनि उपचारको लागि जानु भएको छैन रहेछ । उहाँहरुलाई तत्काल उपचारको लागि सिफारिस गरिदिएका छौँ ; लाखेले भन्नुभयो ।
    त्यस्तै पाठेघरको जाचँ गरिएका महिला मध्य १६ जनामा पाठेघर खस्ने समस्या देखा परेको छ । पाठेघर खस्ने समस्या समयमानै उपचार नगराउँदा जटिल बन्दै जाने भएकोले तत्काल अप्रेसन गर्नुपर्ने सुझाव दिइएको स्वास्थ्य शाखा प्रमुख लाखेले बताउनु भयो ।
    दुईवटै रोगका विरामीहरुलाई गाउँपालिकाले प्रादेशिक अस्पताल जनकपुरमा समन्वय गरि उपचारको ब्यवस्था मिलाइने उहाँले बताउनु भयो ।
    शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी मार्फत ७४ जनाको खकार जाचँ गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
    मरिण गाउँपालिका वडा नं. १, २, ३ र ४ लाई लक्षित गरि मरिण गाउँपालिका ३ स्थित कल्पबृक्ष स्वास्थ्य चौकी र वडा नं. ५, ६ र ७ लाई लक्षित गरि मरिण गाउँपालिका ७ स्थित जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा शिविर संचालन गरिएको थियो ।
    आर्थिक स्थिती कमजोर भएका, अशक्त, रोगि, मानसिक सन्तुलन गुमाएका तथा भौगोलिक विकटता भएका महिलाहरुलाई लक्षित गरेर मंगलबार र बुधबार शिविर संचालन गरिएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।