• वैशाख ४,सिन्धुली/सिन्धुलीमा ८ महिनाको अन्तरालमा १ सय ४१ वटा सवारी साधन दुर्घटनामा परेका छन् । आर्थिक बर्ष २०८०/८१ को साउन देखि चैत महिना सम्ममा जिल्लाको तीन ठूला राजमार्गहरु वीपि, मध्यपहाडि र मदन भण्डारी राजमार्ग तथा भित्रि सडकमा गरि १ सय ४१ वटा सवारी साधन दुर्घटना भएका हुन् ।
    उक्त सवारी साधन दुर्घटनामा परी १८ जना मानिसको मृत्यु भएको छ भने २ सय ४७ जना मानिस घाइते भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख यज्ञ बहादुर पालले जानकारी दिनुभयो ।
    साउन महिनामा ८ वटा सवारी साधन दुर्घटनामा पर्दा ११ जना मानिस घाइते भएका छन् । भदौ महिनामा १३ वटा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका थिए । असोज महिनामा १२ वटा सवारी साधन दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् भने कार्तिक महिनामा २४ वटा सवारी साधन दुर्घटना हुँदा १ जनाको मृत्यु र ४८ जना घाइते भएको ट्राफिक प्रमुख पालले जानकारी दिनुभयो ।
    मंसिर महिनामा २२ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४६ जना मानिस घाइते भएका थिए । पुस महिनामा जिल्लामा १५ वटा सवारी साधन दुर्घटना भएकोमा ५ जना मानिसको मृत्यु र १५ जना मानिस घाइते भएका छन् ।
    माघ महिनामा १५ वटा सवारी दुर्घटनामा पर्दा १ जना मानिसको मृत्यु तथा २० जना घाइते भएका छन् भने फागुन महिनामा २२ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु तथा ५० जना घाइते र चैत महिनामा १० वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना मानिस घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
    दुर्घटना न्युनिकरणको लागि ठूला राजमार्ग तथा भित्रि सडकमा जिल्ला ट्राफिक कार्यालयले सवारी साधन चालक अनुमतिपत्र भए नभएको, ओभर स्पिड, हेलमेट प्रयोग नभएका चालकहरुलाई अनुसन्धान गरी जरिवाना गर्ने गरिएको पालले बताउनु भयो ।