• बैशाख ३, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ महिलाहरुलाई लक्षित गर्दै भोलि मंगलबारबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो ।

    मरिण गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनामा शिविर सन्चालन गरिने बताइएको छ । पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी खकार जाचँ सम्बन्धि शिविर संचालन गर्न लागिएको मरिण गाउँपालिकाको स्वास्थ्य शाखाले एक सूचना जारी गरेर जानकारी दिएको छ । शिविरमा महिलाहरुको आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, शंकास्पद क्षयरोगीहरुका लागि निःशुल्क स्क्रिनीङ जाँच, खकार जाँच, उपचार र औषधी समेत वितरण गरिने सूचनामा उल्लेख गरिएको छ ।

    आर्थिक स्थिती कमजोर भएका, अशक्त, रोगि, मानसिक सन्तुलन गुमाएका तथा भौगोलिक विकटता भएका महिलाहरुलाई लक्षित गरेर घुम्ति शिविर सन्चालन गर्न लागिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । पछिल्लो समय यस्ता समस्याबाट महिलाहरु ग्रसित भएको भन्ने गुनासोलाई मध्यनजर गरेर निःशुल्क शिविर सन्चालनमा ल्याइएको मोक्तानको भनाई छ ।

    भोलि मंगलबार मरिण गाउँपालिका ३ स्थित कल्पबृक्ष स्वास्थ्य चौकीमा र ५ गते बुधबार मरिण गाउँपालिका ७ स्थित जयमंगल आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर संचालन हुने आयोजकले जनाएको छ । सूचनामा उल्लखे भए अनुसारको समस्या भएका विरामीहरुलाइ शिविरमा गएर सेवा लिन पालिकाको स्वास्थ्य शाखाले अनुरोध समेत गरेको छ ।