• चैत २७,सिन्धुली/नेकपा (एमाले) सिन्धुलीको आठौँ अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । आज पत्रकार सम्मेलन गरी जिल्ला अधिवेशनबारे जानकारी दिएको हो । एमाले सिन्धुलीको आठौँ अधिवेशन भोलि चैत २८ एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुहुने भएको छ ।

    दुई दिनसम्म चल्ने अधिवेशन २९ गते जिल्ला कमिटी चयन गर्दै सम्पन्न हुने नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग सिन्धुलीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले अधिवेशनको खर्च जिल्लाले नै बेहार्ने बताउनु भयो ।

    उहाँले अन्यको दलको जस्तो कार्यालयको कोठा भाडा सहित केन्द्रबाट पठाउने प्रवृत्ति एमालेमा नभएको बताउनुहुँदै उहाँले जिल्ला अधिवेशनको लागि छनोट भएका प्रनिनिधिहरुबाट नै खर्चको व्यवस्थापन गरिने बताउनु भयो । त्यस्तै ढुङ्गेलले अर्को एक प्रसङ्गमा हाल गठबन्धन नभई समिकरण भएको उल्लेख गर्नुभयो । माओवादी केन्द्र र नेकपा एमालेबिच गठबन्धन हैन समिकरण भएको बताउनु भएको थियो ।

    नेकपा एमालेका जिल्ला इन्चार्ज खेम लोहनीले अधिवेशनका लागि प्रतिनिधि चयनलगायत सम्पूर्ण तयारी पूरा भएको बताउनु भयो ‘‘जिल्ला अधिवेशनका लागि २०८० चैत १८ गते ७९ वटै वडाहरुमा एकै दिन प्रतिनिधि छनोट गर्ने कार्य सम्पन्न गरी समावेसिताको सिद्धान्तलाई पूर्णरुपमा अंगिकार गर्दै २०८० असार मसान्तसम्म सदस्यता नवीकरण भएका सदस्यमध्येबाट १५ बराबर १ जना प्रतिनिका दरले तीन जना छनोट हुनेमा अनिवार्य १ जना महिला प्रतिनिधि चयन भएका छन् । पूर्णरुपमा लैंगिक समावेसिता कायम गर्दै युवा, महिला, जनजाति, दलित अपांगता भएका व्यक्तिहरुको अनिवार्य प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गर्ने कार्य सम्पन्न भएको जानकारी गराउँदछौँ,’’ इन्चार्ज लोहनीले भन्नुभयो ।

    त्यस्तै उहाँले अधिवेशनबाट नयाँ कमिटि चयन सर्वसम्मत रुपमै गरिने तयारी भइरहेको जानकारी दिनुभयो । हरेक स्थानबाट प्रतिनिधि चयन गर्दा १५ प्रतिशत ३० वर्षभन्दा कम उमेरकालाई प्रतिनिधि छनोट गरिएको जनाएको छ । एमाले सिन्धुलीको प्रचार तथा प्रकाशन विभाग प्रमुख सञ्जयकुमार दाहालले जिल्ला अधिवेशनमा कूल ७८४ जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो ।

    जसमा भूगोलतर्फ कमलामाई नगरपालिकाबाट सबैभन्दा १७८ जना प्रतिनिधि सहभागी हुने उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी दुधौली नगरपालिकाबाट ९७ जना, तीनपाटन गाउँपालिकाबाट ५७ जना, फिक्कल गाउँपालिकाबाट ५०, गोलञ्जोर गाउँपालिकाबाट ४० जना सुनकोसी गाउँपालिकाबाट २२, घ्याङलेख गाउँपालिकाबाट १६, मरिण गाउँपालिकाबाट २७ र हरिहरपुरगढी गाउँपालिकाबाट २७ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।

    साथै, जनवर्गीय संगठनबाट ७६ जना, जिल्ला कमिटी सदस्य १३० जना, सल्लाहकार २५ जना र मनोनीत ३९ जना सहभागी हुने उहाँले बताउनुभयो । ‘‘आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १०० जना निर्वाचित हुनेछन् । १०५ सदस्यीय जिल्ला कमिटी हुनेमा छुटेका भूगोल, विभिन्न पार्टीबाट समाहित हुने व्यक्तिहरु र मूलप्रवाहमा समावेश गर्नुपर्ने वर्ग, समुदायका व्यक्तिहरुलाई जिल्ला कमिटीको बैठकबाट मनोनीत गरिनेछ,’’ विज्ञप्तिमा उल्लेख छ ।

    आठौं जिल्ला अधिवेशनले नेकपा (एमाले)को राजनीतिक भूमिकालाई उचाइमा पु¥याउने अपेक्षा गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख दाहालले बताउनुभयो ।