• चैत १९, सिन्धुली/मरिण गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सुविधा उपभोग गर्ने परिवारका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ । आगामी वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रबाट उक्त नीति कार्यान्वयनमा ल्याउने भएको हो ।

    गाउँपालिकाले सोमबार एक सूचना जारी गरी गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा सरकारी कोषबाट सेवा सुविधा उपभोग गर्ने गाउँपालिकाभित्र बस्ने परिवारले शैक्षिक सत्र २०८१ बाट आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति र हिउँदे गाउँसभाको निर्णय कार्यान्वयनका लागि उक्त निर्देशन जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख छ ।

    सामुदायिक विद्यालयमा सबै नागरिकको समान पहुँच, अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एवं आम सरोकारवालाहरुको अपनत्व बोधमार्फत सामुदायिक विद्यालयको विद्यमान खस्कँदो व्यवस्थापकीय पक्ष, शैक्षिक पक्ष, मुख्य एवं सहायक अन्य बहुआयामिक महत्त्वपूर्ण पक्षहरुलाई मध्येनजर गरी उक्त निर्णय गरिएको सूचनामा जनाइएको छ ।
    गाउँपालिका अध्यक्ष प्रख्यात मोक्तानले पालिकाभित्रका विद्यालयमा पढाउने बालबालिकाका लागि यो नियम लागू हुने बताउनुभयो । तर बाहिरबाट आउने कर्मचारी र पालिकाभन्दा बाहिर लगेर पढाउने बालबालिकाका लागि भने यो अनिवार्य नहुने उहाँको भनाइ छ । ‘पालिकाभित्रकै जनप्रतिनिधि, कर्मचारी, शिक्षक र सरकार कोषबाट सुविधा लिने परिवारले यही पालिकाभित्र आफ्ना बालबालिका पढाउँदा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्छ,’ उहाँले भन्नुभयो । वहाँले भन्नुभयो ‘बाहिरबाट आएर काम गर्ने कर्मचारी, शिक्षकको हकमा मरिण गाउँपालिका बाहिरै राखेर पढाउनु भएको छ भने यो लागू हुँदैन । पालिकाभित्रका भए पनि बाहिर लगेर पढाउँछन् भने पनि लागू हुँदैन । मरिण गाउँपालिकाभित्रको निजी विद्यालयमा मात्र पढाउन नपाउने हो ।’
    अध्यक्ष मोक्तानले पालिका बाहिरबाट मरिण गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीको छोराछोरी मरिण गाउँपालिका भित्रै राखेर निजी विद्यालयमा पढाउन नपाउने सामुदायिक विद्यालयमै पढाउनु पर्ने समेत बताउनुभयो ।