• चैत ५,सिन्धुली/सुनकोशी गाउँपालिका–६ थुम्कास्थित रिठ्ठेभिर सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा घर तथा गोठ जलेर करिब १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आज दिउँसो २ बजेबाट सुरु भएको आगो ६ घण्टापछि नियन्त्रणमा लिइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले जानकारी दिनुभयो ।

    मन्थली नगरपालिकाको दम्कल, खानेपानीको पानीट्याङ्कीको प्रयोग गरेर जनप्रतिनिधि, स्थानीय, शसस्त्र प्रहरी बल, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिइएको छ । विभिन्न व्यक्तिका घर तथा गोठमा आगलागी हुँदा १५ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

    आगलागीबाट थुम्काकी सितादेवी आचार्यको फुसको घर र गोठ जलेर नष्ट भएको छ । नरबहादुर आचार्य र कृष्णबहादुर आचार्यको फुसको घर पनि जलेको प्रहरीले जनाएको छ । नरबहादुर र कृष्णबहादुरको घरमा भने हाल कसैको बसोबास नरहेको जनाइएको छ । यस्तै, सोही ठाउँकी पवित्रा कार्कीको पनि गोठ जलेको छ ।

    सोही स्थानमा रहेको शुभकामना प्राविको पुरानो भवनमा पनि आगलागीले क्षति पु¥याएको छ । उक्त प्राविमा हाल पठनपाठन भने हुँदैन । आगलागीबाट मानवीय तथा पशु चौपायमा भने क्षति नभएको प्रहरी प्रवक्ता प्रहरीले जनाएको छ ।