• चैत ५,सिन्धुली/फिक्कल गाउँपालिकाको वडा नं. ४ ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । वडाको खाङसाङस्थित वडा कार्यालयमा सोमबार आयोजित सार्वजनिक सुनुवाइ वडाध्यक्ष मोहन मगरको अध्यक्षतामा भएको हो ।

    स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नका लागि वडास्तरमा यस्तो सुनुवाइ गरिँदै आएको छ । त्यही क्रममा सोमबार दोस्रो चौमासिक सुनुवाइ सम्पन्न गरिएको हो ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी वडावासी तथा सरोकारवालाहरुले स्थानीय तहबाट प्रवाह हुने सेवाहरुमा भोग्नु परेका समस्या र विकास निर्माणका कार्यहरुमा देखिएका कमजोरीहरु औंल्याउनुभएको थियो । उहाँहरुले मुख्य रुपमा बिजुलीको असुविधा भएको, सडकको स्तरोन्नति नगरिएको, सिँचाइको समस्या, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्नको निम्ति योजना नबनाइएको गुनासो राख्नुभएको थियो ।

    वडाबाट दिने सेवालाई थप प्रभावकारी बनाउनुपर्ने, खाङसाङ स्वास्थ्य केन्द्रको भवन निर्माण गरिनुपर्ने तथा एमबिबिएस डाक्टरको व्यवस्था गरिनुपर्ने, आमा समुहको भवन निर्माणका लागि माग, पक्षपात नगरिकन वडाबाट सेवा प्रदान गरिनुपर्ने, वडामा आएको बजेट शीर्षकसहित सार्वजनिक गरिनुपर्ने लगायतका माग सहभागीहरुबाट उठेको थियो ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरुको सम्बोधन गर्दै वडाध्यक्ष मगरले वडावासीको सेवामा आफू प्रतिबद्ध भई लागेको बताउनुभयो । उहाँले वडाबाट प्रवाह हुने सेवालाई चुस्त एवं प्रभावकारी बनाउन आफू लागिपरेको बताउनुभयो । यद्यपि, कतिपय विषयमा अझै समस्या रहेको स्वीकार गर्दै उहाँले आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

    वडाध्यक्ष मगरले वडाबाट सेवाग्राहीलाई प्रदान गरिने सिफारिसलाई सहज बनाएको बताउनुभयो । ‘म कार्यालयबाहिर हुँदा पनि टेलिफोनबाटै सिफारिसमा सहजीकरण गरेको छु । सकेसम्म एकैदिनमा सिफारिस उपलब्ध गराउने व्यवस्था गरेको छु,’ उहाँले भन्नुभयो ।

    यस्तै न्यायिक सेवालाई प्रभावकारी र चुस्त बनाउन पहल गर्दै आएको बताउनुभयो । तर, यसमा गाउँपालिका नेतृत्वको मुख्य भूमिका हुने भएकोले वडाले चाहेजस्तो हुन नसकेको उहाँको भनाइ छ । ‘स्थानीय स्रोत र साधनको प्रयोग गरी तपाईंहरुलाई अधिकतम सेवा दिने संकल्प लिएर काम गरेको छु,’ उहाँले भन्नुभयो ।

    खानेपानी, विद्युत्, सडक लगायतको विकास र बिस्तारका लागि वडाले निरन्तर पहल गर्दै आएको वडाध्यक्ष मगरले बताउनुभयो । वडावासीको आवश्यकताअनुसार यी सेवाका पूर्वाधार विकासमा निरन्तर दबाब दिँदै आए पनि माथिल्लो निकायबाट समयमा काम नहुँदा समस्या हुने गरेको बताउनुभयो । ‘बन्दै गरेको विद्युत्को लागि मैले व्यक्तिगत रुपमा सशक्त पहल गरेको छु । १ नम्बर, ६ नम्बर, ५ नम्बर वडाको तुलनामा हाम्रो वडा सबभन्दा सानो वडा हो । पाँच सय वटा मात्रै पोलको माग थियो । तर मैले कुनै पनि मानेमा ९५० वटा पोल हुनुपर्छ भनेर प्राविधिकलाई लेख्न लगाउँदा म आफैंले लेखेर पठाएको थिएँ । त्यहीअनुसार पोल आएको कारण अहिले मेरो वडाको कुनाकुनासम्म पोल पुगेको छ । कुनै पनि स्थानमा बाँकी छैन,’ वडाध्यक्ष मगरले भन्नुभयो ।

    उहाँले सिँचाइको व्यवस्था र पहिरो नियन्त्रणका लागि योजना अघि बढाइसकेको बताउनुभयो । स्वास्थ्य भवनको लागि पहल भइरहेको, माथिल्लो बेल्टमा खानेपानी सेवाका लागि एक घर १० हजार लिटरको ट्यांकी अभियान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । शिक्षातर्फ सुनकोशी, महाकाली र ठुली वन माविमा ल्यापटप र प्रिन्टरको व्यवस्था गरिएको तथा अन्य पाँचवटा विद्यालयका लागि पनि दुई–दुईवटा कम्प्युटर र एक–एकवटा प्रिन्टरका लागि मन्त्रालयसँग सीधा माग गरिएको जानकारी दिँदै उहाँले केही समयभित्र प्राप्त हुने आश्वासन दिनुभयो ।

    वडाध्यक्ष मगरले वडाको समग्र विकासका लागि आफू लागिपर्ने बताउँदै यसमा साथ दिन वडावासीलाई आग्रह गर्नुभयो । वडाको सेवामा भइरहेको कमी कमजोरी औंल्याइदिएकोमा धन्यवाद व्यक्त गर्दै उहाँले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावहरुलाई सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।