• चैत १, सिन्धुली/तीनपाटन गाउँपालिका–१ बेलघारीमा परम्परागत हानिकारक अभ्यास परिवर्तनको निम्ति अन्तरपुस्ता संवाद तथा अन्तरक्रिया सञ्चालन गरिएको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम सिन्धुली (जेएसडिपी) को आयोजनमा समाजमा जरो गाडेर बसेको हानिकारक सामाजिक मुल्यमान्यता न्युनिकरणको लागि अन्तरपुस्ता संवाद तथा अन्तरक्रिया सञ्चालन गरिएको हो ।
    उक्त वडाका वडाध्यक्ष गोबिन्द बहादुर राउतको अध्यक्षतमा भएको कार्यक्रममा बालबालिका, युवा, अभिभावक तथा शिक्षक, शिक्षिका र सार्वजनिक पदमा आसिन व्यत्तित्वबीच बृहत् छलफल तथा अन्तरक्रिया गरिएको थियो । वडाध्यक्ष राउतले १ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रियामा रहेको बताउनुभयो । आगामी असार १० गते वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बालमैत्री वडा घोषणा गर्नको निम्ती जेएसडिपीले सञ्चालन गरेको अन्तरपुस्ता संवाद तथा अन्तरक्रिया कार्यक्रमले निकै टेवा पुगेको अध्यक्ष राउतले बताउनुभयो ।
    पछिल्लो समय तीनपाटनका बालबालिका लागुऔषध ओसारप्रसारमा प्रयोग हुने गरेको अभिभावकले गुनासो गर्नुभएको छ । विद्यालयका विद्यार्थीहरुले लागुऔषध दुर्व्यसनमा लागेको, नकरात्मक यौन चाहना, बालिकाहरु जवरजस्ती करणीको शिकार बन्ने क्रम बढ्दो रहेको भन्दै सरोकारवालाई अभिभावकहरुले ध्यानाकर्षण गराउनुभएको हो ।
    यता बालबालिकाहरुले भने अभिभावकले आफुहरुको बिषयमा चासो नराखेको भनाई राख्नुभयो । “बोर्डिङ स्कुलमा अध्ययनरत साथीहरुको अभिभावकले धेरै चासो राख्ने सुनाउँछन् । पढे नपढेको, गृहकार्य गरे नगरेको सोध्ने, हेर्ने गर्दछन् तर हामी सामुदायिक विद्यालयमा पढ्नेहरुको अभिभावकले कहिल्यै त्यस्ता कुराको ख्याल राख्नुहुन्न,“ अन्तरक्रियामा सहभागी बालबालिकाले बताउनुभयो ।
    शिक्षकहरुले भने बालबालिका कुलतमा फस्नुको मुख्य कारण अभिभावकले चासो नराख्नु रहेको बताउनुभयो । आफ्नो छोराछारीको गतिविधिको बिषयमा चासो राख्नु आवश्यक रहेको भन्दै विद्यालयबाट संस्कारसहितको शिक्षा प्रदानमा कुनै कन्जुस्याइँ नभएको शिक्षकहरुले दाबी गर्नुभयो ।
    जेएसडिपी सिन्धुलीका प्रोजेक्ट अफिसर अर्जुन कुमार बयलकोटीले प्लान नेपालको साझेदारीमा जेएसडिपीले विभिन्न कार्यक्रम सन्चालन गरेको बताउनुभयो । उहाँले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, लैङ्गिक उत्तरदायी अभिभावकत्व तालिम, स्वास्थ्य आमा समुह बैठक, बालमैत्री स्थानीय शासन कार्यान्वयनमा तयारीलगायतका दर्जनौँ कार्यक्रम सन्चालन गरिएको जानकारी दिनुभयो ।