• फागुन १९, सिन्धुली/सिन्धुलीमा सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा १ लाख भन्दा बढि ठगिएको रकम फिर्ता गरिएको छ । चालु आर्थिक बर्षको साउनबाट हाल सम्म सामीको पहलमा १ लाख ३८ हजार १ सय २१ रुपैयाँ ठगिएको रकम फिर्ता गरिएको हो ।

    कमलामाई नगरपालिकाका ७० हजार र अन्य पालिकाका ३८ हजार १ सय १ रकम फिर्ता गर्न सफल भएको सामी सिन्धुलीका कार्यक्रम संयोजक केआर विजय दाहालले बताउनु भयो । चालु आर्थिक बर्षको हालसम्म सामीमा परेका मुद्धाको आधारमा जिल्ला प्रशासन सिन्धुलीको सहयोगमा उनीहरुलाई रकम फिर्ता गर्न पहल गरिएको थियो ।

    “पीडित पक्षले मुद्दा दर्ता गराएपछि ठगी गर्नेलाई सम्पर्क गर्छौँ, प्रशासनको समेत सहयोग प्राप्त भएपछि ठगी गर्नेहरू डराएर पैसा लिएर आउने गरेका छन्“ दाहालले भन्नुभयो । जिल्लामा ६ महिनामा ३५ वटा मुद्धा परेको सामीको तथ्याकमा उल्लेख छ । कमलामाईबाट ११, दुधौली नगरपालिकाबाट १०, तीनपाटन गाउँपालिकाबाट ९, हरिहरपुरगढी गाउँपालिकाबाट ४ र अन्यबाट ४ वटा मुद्धा परेको थियो ।

    परियोजनामार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । परियोजना सञ्चालनपछि वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुष आफ्नो वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकारी लिने गर्दछन् । सिन्धुलीमा चालु आर्थिक बर्षको साउन देखि हाल सम्म ६ हजार १३ जनाले राहदानी लिएका छन् ।

    सुरक्षित आप्रवासन परियोजना (सामी) सिन्धुलीका अनुसार राहदानी लिने सो सँख्या मध्ये ४ हजार २ सय ४९ जनाले वैदेशिक रोजगारीका लागि राहदानी लिएका हुन् । १ हजार ३ सय ८५ जनाले उच्च शिक्षा अध्ययन, २ सय ४१ जनाले भिजीट र १ सय ३७ जनाले अन्य गतिविधिको लागि राहदानी लिएको एक कार्यक्रमका बिच सुरक्षित आप्रवासन परियोजना (सामी) कमलामाई नगरपालिकाका सम्पर्क व्यक्ति बबिन्द्रलाल माझिले जानकारी दिनुभयो ।

    वैदेशिक रोजगारीमा जाने ७० प्रतिशत अदक्ष पाइएको माझिले बताउनु भयो । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने महिला तथा पुरुषलाई गार्मेन्ट, इलेक्ट्रीसियन, प्लम्बर, किचेन हेल्फर, हाउस किपिङ, गार्मेन मेसिन अपरेटर लगायतका सीपमूलक तालिम निःशुल्क सिकाउने गर्दछ । यस्तै सुरक्षित आप्रवासन परियोजना (सामी) सिन्धुलीका कार्यक्रम अधिकृत भोजराज सुनुवारले परियोजनाको कार्यक्रममा जिल्लाका जनप्रतिनिधिको निष्क्रियता पाइएको बताउनुभयो ।